
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मंगलबार ‘नेशनल चेस च्याम्पियनसिप २०२३’ को उद्घाटन कार्यक्रममा सहभागी थिए । उनले कार्यक्रममा बोल्दै आफू जेलमा रहँदाको समय स्मरण गरे । उनले भने, ‘केपी ओलीजी हामी जेलमा सँगै थियौँ । त्यति बेला चेसमा उहाँलाई कसैले हराउन सक्दैनथ्यो ।’
ओली राजनीतिक खेलाडी मात्र नभई साँच्चिकै खेलाडी पनि भएको तिमिल्सिनाले तर्क गरे । जेलमा हुने खेलहरूमा भलिबल अलिअलि तर क्यारेमबोर्ड र चेसमा ओलीलाई कसैले हराउन नसकेको उनी सम्झिन्छन् । ‘क्यारेमबोर्ड त अरूले दाहिने हातले खेले पनि उहाँले देब्रे हातले पनि पराजित गराउनुहुन्थ्यो, तिमिल्सिनाले थपे ।’
उनले चेस अर्थात् बुद्धिचालका कारण मानिसहरूको दिमाग तेजिलो हुने पनि बताए । चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै उनले राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको तर्क गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने भएकाले जङ्गलदेखि संसद् र सरकारसम्म पुग्नुको कारण हुनसक्ने उनको भनाइ थियो ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि धेरै चेस खेलेका कारण धेरै पटक प्रधानमन्त्री बनेको हुन सक्ने ठट्टा पनि गरे । उनले चेसलाई राज्यले उत्ति महत्त्व नदिएको भन्दै आगामी दिनमा महत्त्व दिन आग्रह गरे ।