
राष्ट्रपति पदको निर्वाचनका लागि नमुना मतपत्र तयार भएको छ । संघीय सांसद र प्रदेशसभा सदस्यका लागि फरक रङका मतपत्र तयार पारिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलका अनुसार संघीय सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको अक्षर छ भने प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो रङको अक्षर छ ।
फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि आयोगले नमुना मतपत्र सार्वजनिक गरेको हो । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदै छ ।