२१ बैशाख २०८२, आईतवार

हेर्दाहेर्दैमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

Sandeep Lamichhane

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर प्रक्रिया अघि बढाउने अथवा धरौटीमा रिहा गर्नेबारे सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भनिए पनि हेर्दाहेर्दैमा परेको छ ।

सन्दीपले लिग टुअन्तगर्तको सिरिज खेल्न यूएई जान पाउँ भनी दिएको निवेदनमा अदालतले अन्तरिम आदेश दिएको थिएन । पाटन उच्च अदालतले पुस २८ गते धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्धको रिटसहित आइतबार दुवै रिटको एकै ठाउँमा सुनुवाइ हुने तयारी थियो ।

उच्च अदालतको आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्ष थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले दुवै निवेदन एकसाथ राखेर आइतबार पेस गर्न आदेश दिएका थिए । सन्दीपमाथि नाबालिग जबरजस्ती करणीको आरोप लागेको छ ।

उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनीमाथि लगाएको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा समावेश गरेको थियो ।

निलम्बन फुकुवापछि राष्ट्रिय टिममा पुनरागमन गरेका उनले लिग टुअन्तर्गत घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शन गरेका थिए । चार खेलको उक्त सिरिजमा उनले १३ विकेट लिएका थिए ।

विश्व क्रिकेट लिग टुअन्तर्गत सोमबारदेखि यूएई सिरिज सुरु हुँदै छ । नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । घरेलु मैदानमा प्रदर्शन गरेको लयलाई कायमै राख्न नेपाललाई चुनौती हुनेछ ।

    सम्बन्धित समाचार...