
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङलाई राष्ट्रपतिमा निर्वाचित गराउन गृहकार्य सुरु गरेका छन् । उनले शनिबार नेम्वाङलाई मत हाल्न आग्रह गर्दै कांग्रेसबाहेका दललाई पत्राचार गरेका छन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीकाअनुसार ओलीले दल र केही स्वतन्त्र सांसदलाई गरेर १७ वटा पत्र पठाएका छन् । राष्ट्रपतिमा आफ्नो उम्मेदवार नउठाएका सबै दल र स्वतन्त्र सांसदलाई पत्राचार गरिएको उनले जानकारी दिए ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको समर्थनमा कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसका पौडेललाई माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, राष्ट्रिय जनमोर्चा र नागरिक उनमुक्ति पार्टीको समर्थन छ । एमालेका नेम्वाङलाई भने कुनै पार्टीले खुलेर समर्थन गरेको अवस्था छैन ।
राष्ट्रपति निर्वाचनको कुल मतभार ५२ हजार ६ सय २८ छ । बहुमतका लागि २६ हजार ३ सय १५ मतभार आवश्यक पर्छ । ८ दल मिल्दा कांग्रेसको पक्षमा कुल ३१ हजार ७ सय ४२ मतभार हुन जान्छ । यो कुल मतभारको सुविधाजनक बहुमत हो । सोही कारण अध्यक्ष ओलीले आफ्ना उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउन कसरत सुरु गरेका हुन् ।
राष्ट्रपतिमा नेम्वाङलाई जिताउन आग्रह गर्दै ओलीले लेखे नेपाललाई पत्र
एमालेले राष्ट्रपतिको आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न आग्रह गर्दै नेकपा एकीकृत समाजवादीलाई पत्र लेखेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्र लेखेका हुन् ।
ओलीको हस्तारक्षर रहेको पत्रमा एमालेकोतर्फबाट नेम्वाङलाई राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गरिएको र उनको पक्षमा मतदानका लागि पूर्ण सहयोग गर्न आग्रह गरिएको छ ।
पत्रमा नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको एमालेले जनाएको छ ।
‘आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार हाम्रो पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङलाई यही २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गरिएको छ,’ पत्रमा भनिएको छ, ‘नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।’
