६ असार २०८२, शुक्रबार

देउवालाई लोसपा नेताहरुको प्रस्ताव- राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गरौँ

mahanta thakur

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रपतिमा महन्थ ठाकुरलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रमुख राजनीतिक दलहरुबीच आपसमा सहमति नजुटेको अवस्थामा अध्यक्ष ठाकुर उपयुक्त उम्मेदवार हुने भन्दै लोसपाले ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेको हो ।

राष्ट्रपतिमा आफूलाई साथ दिन आग्रह गर्दै बुधबार बिहान उक्त पार्टीका शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए । अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झालगायतका नेताहरुले कांग्रेस सभापति देउवालाई भेटेर राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।

राष्ट्रिय सहमतिका लागि ठाकुर उपयुक्त पात्र हुने लोसपा नेताहरुले प्रस्ताव गरेका छन् ।

लोसपाको प्रस्तावमा कांग्रेस सभापति देउवाले ठाकुरको नाममा राष्ट्रिय सहमति गर्ने विषयमा पार्टी भित्र छलफल गर्ने आश्वासन दिएका छन् ।

भेटमा सहभागी लोसपा नेता शुक्लले भने, ‘हामीले एमाले र कांग्रेससहित सबै दललाई सहज हुने गरी हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरजीलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हौँ । उहाँको व्यक्तित्व, योगदानलगायत सबै कुराले उहाँ उपयुक्त हुनुहुन्छ ।’

नयाँ सत्ता समीकरण बनाउने बेलैमा राष्ट्रपति एमालेबाट हुने सहमति बनेको भन्दै एमालेले पूर्वसहमति कार्यान्वयन हुनु पर्ने अडान लिँदै आएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहालले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु पर्ने प्रस्ताव गरिरहेका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवाज उठेसँगै सत्तारुढ दलभित्र खटपट चलिरहेको छ ।

    सम्बन्धित समाचार...