
राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की रहेका छन् ।
पार्टी कार्यालयका आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले मन्त्रीलाई फिर्ता बोलाएको हो । मन्त्रीलाई फिर्ता बोलाइए पनि सरकारलाई गरेको समर्थन कायमै रहने पार्टीको निर्णय छ ।
बैठकपछि केन्द्रीय सदस्य दीपक बोहोराले समर्थन कायम राखेर सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता गर्ने निर्णय भएको जानकारी दिए ।
गृह मन्त्रालय पुनः आफैँले पाउनुपर्ने अडान राख्दै आएको स्वतन्त्र पार्टीले सकारलाई निर्णय लिन बिहीबार दुई दिने अल्टिमेटम दिएको थियो । अल्टिमेटमको सुनुवाइ नभएपछि शनिबार बसेको बैठकले उक्त पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन भएपछि पुनः आज बोलाइएको थियो ।
नागरिकता विवादले यस पार्टीका सभापति रवि लामिछानेको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद खारेज भएको थियो । सत्ता भागबन्डामा आफ्नो भागमा गृह मन्त्रालय परेकाले पुनः पाउनुपर्ने यस पार्टीको माग थियो । प्रधानमन्त्री पुष्पकमल दाहालल मुद्दाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई नदिने पक्षमा छन् ।