
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका खेलाडीहरुको वर्गीकरण गरेको छ।
पोखरामा मंगलबार बसेको संघको बोर्ड बैठकले राष्ट्रिय टिमका १८ पुरुष खेलाडी र १२ महिला खेलाडीहरुको वर्गीकरण गर्दै जनवरीदेखि जुनसम्म ६ महिनाका लागि केन्द्रीय करारमा राख्ने निर्णय गरेको हो ।
संघले गरेको वर्गीकरण अनुसार ग्रेड ‘ए’ मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख परेका छन् ।
यस्तै, ग्रेड ‘बी’ मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् । ग्रेड ‘सी’ मा सबैभन्दा धेरै १० खेलाडी छन् । यस ग्रेडमा कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सन कुमार झा, अजुर्न साउद, अविनाश बोहरा, ललित नारायण राजबंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव परेका छन् ।
संघले नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी गुल्सनकुमार झालाई दिने निर्णय पनि गरेको छ ।
यस्तै महिला खेलाडीतर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा परेका छन् । ग्रेड ‘बी’ मा काजोल श्रेष्ठ, कविता कुवँर र अस्मिना कर्माचार्या छन् । ग्रेड ‘सी’ मा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम परेका छन् ।
संघको बैठकले अनुशासन उल्लंघनको कारवाहीमा परी निलम्बित पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । तर, वर्गीकरणमा भने उनी परेका छैनन् ।
