
फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्वामित्व विवादका कारण ‘पाक डि फांस’ रंगशाला छोड्ने चेतावनी दिएको छ ।
पेरिस सिटीका मेयरले ‘पाक डि फांस’ रंगशाला नबेच्ने अडान लिएपछि पीएसजीले अर्को विकल्प खोज्ने बताएको हो ।
फ्रेन्च च्याम्पियन पीएसजीको सन् १९७४ मा शीर्ष डिभिजनमा बढुवा भएयता पाक डि फांस घरेलु मैदान रहँदै आएको छ । ४७ हजार दर्शक क्षमता भएको स्टेडियमको पुनर्निर्माण आवश्यक भएको र त्यसका लागि ५ सय मिलियन युरो खर्च लाग्नेछ ।
पीएसजीले यदि स्टेडियम खरिद गर्न दिने भएयता मात्र पुनर्निमार्णमा खर्च गर्ने बताएको छ । तर पेरिस सिटीका मेयरले प्रस्ताव सिँधै अस्वीकार गरेपछि पीएसजीले करदाताको पैसा खर्च हुने भन्दै आक्रोशपूर्ण ढंगबाट प्रतिक्रया जनाएको हो ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पीएसजीले पेरिस सिटी परिषद्को स्वामित्वमा रहेको स्टेडियम खरिदको प्रस्ताव गत नोभेम्बरमै गरेको थियो । सन् २०१३ मा पीएसजीले परिषद्सँग सन् २०४३ सम्मको लिजका लागि सहमति गरेको थियो । अहिलेसम्म क्लबले स्टेडियमको स्तरोन्नतिका लागि ८५ मिलियन युरो खर्च गरिसकेको बताइएको छ। पीएसजी फ्रान्सको सर्वाधिक सफल क्लब हो ।
सन् २०११ मा कतारी मालिक नासर अल खलाफीले स्वामित्वमा लिए यता पीएसजीले आठ पटक लिग वान जितेको छ । घरेलु कपमा पनि वर्चश्व जनाएको पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिग भने जित्न सकेको छैन ।
च्याम्पियन्स लिगकै लागि क्लबले नेइमार, किलियन एम्बाप्पे, लियोनल मेसीलगायतका खेलाडीलाई ठूलो रकम तिरेर भित्र्याएको हो ।