२१ बैशाख २०८२, आईतवार

राष्ट्रिय एकता बलियो बनाउँदै आर्थिक विकासमा केन्द्रित होऔं : प्रधानमन्त्री दाहाल

PMDahalParliament

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकता बलियो बनाउँदै आर्थिक विकासमा केन्द्रित हुन सांसदहरुलाई आग्रह गरेका छन् ।

संसद्‌को पहिलो अधिवेशनका अवसरमा सोमबार संघीय संसद् भवन बानेश्वरमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले संसद्‌लाई मतभेदका बाबजुद पनि सहमतिको थलो बनाउन आग्रह गरेका छन् ।

अहिलेको संसद्‌ले जनतालाई सुशासन दिने उनको भनाइ छ । उनले भने, ‘हामी जनतालाई सुशासन दिन सक्छौं या सक्दैनौं यो संसद हाम्रो परीक्षाको केन्द्र पनि हो ।’

दाहालले नवनिर्वाचित सांसदहरुमा केही गरी छाड्ने हुट्हुटी रहेको पनि बताए । उनले यो हुटहुटी नयाँ संसद्‌को पुँजी रहेको पनि जनाए ।

प्रधानमन्त्री दाहालले अहिलेको संसद् विधिधतायुक्त रहेको बताएका छन् । उनले भने, ‘यस्तो संसद् विरलै पाइन्छ । यसमा गर्व गर्न सकिन्छ । विविधताको सम्मान गरे एकतातिर जानेछौं नत्र विभाजनतिर जानेछौं ।’ उनले विविधताको सम्मान गरे एकतातिर जाने पनि बताए ।

प्रधानमन्त्री दाहालले केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भन्ने आशा जगाउनुपर्ने अवस्था रहेको पनि बताए । उनले विभेद र बहीष्करणलाई एकता गर्दै न्यायपूर्ण राष्ट्र निर्माण गर्नुपर्ने पनि बताए । ‘केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भन्ने आशा जगाउनुछ,’ संसद्को पहिलो बैठकमा दाहालले भने, ‘विभेद र वहीष्करणलाई एकता गर्दै न्यायपूर्ण राष्ट्र निर्माण गर्नुपर्नेछ ।’

उनले हाम्रा यिनै अभ्यासहरुमा जनताले गौरव गर्ने वातावरण बन्ने विश्वाससमेत व्यक्त गरे । उनले सहमति मात्र नभई मतभेद पनि मर्यादापूर्ण हुने बताए । उनले भने, ‘सहमति मात्र पनि होइन हाम्रा मतभेद पनि मर्यादापूर्ण हुनेछ भन्ने विश्वास छ ।’ आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले उपस्थित सबै सांसदहरुलाई बधाईसमेत दिएका थिए ।

बैठकमा सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।