२३ बैशाख २०८२, मंगलवार

दाहाल नेतृत्व सरकारको पहिलो निर्णय- सुशासन, सेवा प्रवाह र आर्थिक सुधारमा पहलकदमी

322130901 714001583366698 8668685164762700951 n

पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले सुशासन, सेवा प्रवाह र आर्थिक सुधारमा पहलकदमी गर्ने पहिलो निर्णय गरेको छ ।

शीतलनिवासमा आज (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको क्याबिनेट बैठकले यस्तो निर्णय गरेको हो ।

सुशासन, सेवाप्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धिसहित आर्थिक सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा प्रधानमन्त्री दाहालले पहिलो हस्ताक्षर गरेका छन् । मन्त्रिपरिषद् बैठकबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुसँग आफ्नो सरकार सुशासन, सेवाप्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धिसहित आर्थिक सुधारमा प्राथमिकतासाथ अघि बढ्ने बताएका छन् ।

नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुगेका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।