
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति भएको छ । नेकपा एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको छ ।
पहिलो साढे २ वर्ष दाहाल प्रधानमन्त्री बन्ने र अर्को साढे २ वर्ष ओली प्रधानमन्त्री बन्ने सहमति जुटेको हो । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्न नसकिने अडान राखेपछि सहकार्य सकिएको घोषणा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग छलफल गर्न ओली निवास बालकोट पुगे ।
अध्यक्ष दाहाल आफ्ना सहकर्मी नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई लिएर बालकोट पुग्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका नेता अशोक राईले केपी ओलीलाई भेटिसकेका थिए । पछि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगे ।
अहिलेसम्म बालकोटमा जम्मा भएका दलहरुको अंकगणितले बहुमत पुगिसकेको छ । २७५ सदस्यीय प्रतिनिधिसधामा बहुमतको सरकार बनाउन १३८ सिट चाहिन्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२ र जनमत पार्टीको ६ सिट जोड्दा १६२ पुग्छ ।