२७ बैशाख २०८२, शनिबार

‘बालकोट गठबन्धन’लाई जुट्यो १६२ मत, प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी

320296341 691791219277429 2758686690794844804 n.jpg

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्न नसकिने अडान राखेपछि सहकार्य सकिएको घोषणा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग छलफल गर्न ओली निवास बालकोट पुगे ।

अध्यक्ष दाहाल आफ्ना सहकर्मी नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई लिएर बालकोट पुग्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका नेता अशोक राईले केपी ओलीलाई भेटिसकेका थिए । पछि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगे ।

अहिलेसम्म बालकोटमा जम्मा भएका दलहरुको अंकगणितले बहुमत पुगिसकेको छ । २७५ सदस्यीय प्रतिनिधिसधामा बहुमतको सरकार बनाउन १३८ सिट चाहिन्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२ र जनमत पार्टीको ६ सिट जोड्दा १६२ पुग्छ ।

अब एमाले माओवादी गठबन्धनले बहुमत देखाउने अवस्था आयो र राष्ट्रपतिसमक्ष दाबी पेस गरेपछि आजै प्रधानमन्त्री चयन हुने सम्भावना बढेको छ । प्रधानमन्त्रीको नाम भने तय भइसकेको छैन । एमालेले राष्ट्रपति लिने गरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।