
उम्मेदवारहरु एक अर्कामा सशंकित तर प्रतिस्पर्धा भने रोचक हुने देखिएको निर्वाचन क्षेत्र मध्येको एक हो, काठमाडौं-७ । यहाँ सत्ता गठबन्धनले नेपाल समाजवादी पार्टीका उम्मेदवारलाई आफ्नो भनेका छन् ।
एमालेबाट बागीसहित २ उम्मेदवार हुँदा जनता समाजवादी पार्टी र स्वतन्त्रको पनि अरुलाई चुनौति छ। काठमाडौं-७, राजनीतिक दलका भन्दा धेरै स्वतन्त्र उम्मेदवार भएको निर्वाचन क्षेत्र हो ।
काठमाडौं-७ मा सत्ता गठबन्धनको कोटाबाट नेपाल समाजवादी पार्टीकी युवा नेता मानुषी यमी भट्टराई चुनावी मैदानमा छन् । उनी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
२ हजार ७० र ७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका रामवीर मानन्धर यसपाली पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका छन् । मानन्धरको उम्मेदवारी एमालेलाई चुनौति बन्नसक्छ ।
यो क्षेत्रका अर्का प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले पनि आफुलाई बलियो उम्मेदवारको रुपमा दावी गर्दै आएका छन् ।
त्यसो त १६ जना स्वतन्त्र उम्मेदवारलाई पाखा लगाउन दलहरुलाई सजिलो भने देखिन्न।
असन,सोह्रखुट्टे, नयाँबजार, बालाजु हुँदै जीतपुरफेदीसम्मको यो निर्वाचन क्षेत्रमा ६१ हजार ९ सय ७२ मतदाता छन् ।
नुन देखि सुन सम्म पाईने असन बजार र भूगोलले नुवाकोट सम्म जोडिएको यो निर्वाचन क्षेत्रमा कसले बाजी मार्छ । अहिले नै भन्न सक्ने अवस्था छैन ।