
राजनीतिक दल तथा उम्मेदवारले दोस्रो चरणको प्रचार सुरु गरेका छन् । पहिलो चरणमा चुनाव चिह्न लिएपछि घरदैलो अभियान गरेका दल तथा उम्मेदवारलाई अब चुनावी सभा, कोण सभा र र्याली गर्न बाटो खुलेको छ ।
यो बेला आचारसंहिता उल्लङ्घनका घटना समेत बढ्ने आँकलन गरेको आयोगले अनुगमन बढाएको छ । चुनावी प्रचारका क्रममा दल तथा उम्मेदवारले अब के के गर्न पाउँछन् र के गर्न पाउँदैनन् त ?
दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, र्याली र सञ्चारमाध्यमबाट प्रचार गर्दा निर्वाचन आयोगले बनाएको आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ ।
आयोगले राजनीतिक दलहरूकै सहमतिमा बनाएको आचारसंहिता विपरीत गतिविधि गरे कारबाही गर्ने चेतावनी दिइसकेको छ । अब यो बेला प्रधानमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिले पनि उम्मेदवारको प्रचारमा जाँदा सरकारी सेवा सुविधा प्रयोग गर्न पाउने छैनन् ।
चुनावी सभा गर्दा पार्टीका १० वटासम्म मात्र झण्डा प्रयोग गर्न पाइन्छ । तर नेपालको झण्डा प्रयोगमा भने रोक लगाइएको छ । निर्वाचन प्रचारप्रसार सामग्रीमा टोपी, झण्डा, ज्याकेट, स्टिकरलगायत प्रयोगमा पनि निषेध गरिएको छ ।
कुनै पनि दलका दुई जना मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउँछन् । तर आयोगले तोकेको खर्चको सीमाभित्र रहेर र आयोगको अनुमति लिएर मात्रै प्रयोग गर्न पाइने छ ।
दल तथा उम्मेदवारले हरेक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र चुनावी गतिविधि गर्न पाउने छन् । आयोगले चुनावी र्याली गर्न पाउने तर मोटरर्यालीलाई गर्न नपाइने भनेको छ । चुनाव प्रचारमा बालबालिकाको प्रयोग पूर्ण निषेध छ ।
चुनावी आचारसंहितामा सभा, सम्मेलन तथा सामाजिक सञ्जालबाट कसैलाई होच्याउन, लाञ्छना लगाउन र घोचपेच गर्न नपाइने व्यवस्था छ । त्यति मात्र होइन, सञ्चारमाध्यमबाट उम्मेदवारको प्रचार गर्दा १ दिनमा ४ पटक र १ मिनेटभन्दा बढी गर्न पाइन्न ।
विदेशी सञ्चारमाध्यमबाट भने विज्ञापन गर्न नपाइने व्यवस्था छ । त्यस्तै २५ हजार भन्दा बढी नगद कारोबारमा रोक छ । आचारसंहिता उल्लङ्घन भएमा जरिवानादेखि उम्मेदवारी खारेजीसम्म हुने व्यवस्था छ । आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको सूक्ष्म निगरानी सुरु भइसकेको जनाएको छ ।