१८ बैशाख २०८१, मंगलवार

च्याँखे र भित्री चालबाजी अर्कै: प्रधानमन्त्रीका साझा उम्मेदवार छैनन् सत्ता गठबन्धनमा !

Deuba Prachand Madhav Nepal

राजनीतिक दलहरुले निर्वाचनमा जानुपूर्व आफ्ना भावी योजना घोषणापत्र मार्फत् सार्वजनिक गर्छन् । कतिले त भावी प्रधानमन्त्रीसमेत तोक्छन् । त्यसैलाई देखाएर मतदातासम्म पुग्ने चलन छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । तर सत्ता गठबन्धन दलमा चुनावपछिको प्रधानमन्त्री को भन्नेमा अन्योलमात्र छैन, भित्री चालबाजी अर्कै देखिन्छ ।

नेकपा एमालेले निर्वाचनमा बहुमत ल्याउने र त्यसपछि सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने निर्णय नै गरेर प्रचार सुरु गरेको छ ।

पार्टी विभाजन र आन्तरिक मतभेदकै बीच एमालेले भावी प्रधानमन्त्रीमा ओलीलाई अघि सारेर चुनावमा जाँदा सत्ता गठबन्धन यस विषयमा मौन छ ।

गठबन्धन दलले पाँच वर्ष स्थिर सरकारको नारा दिएका छन् तर सरकारको नेतृत्वमा मौन छन् । गठबन्धनभित्रका दलहरुको मनसाय भने चुनावपछि आफ्नै नेतृत्वमा सरकार बनाउने भन्ने नै छ ।

कांग्रेसको मनसाय चुनावपछि गठबन्धनले बहुमत ल्याउने र पाँचै वर्ष सरकारको नेतृत्व आफूले गर्ने भन्ने छ । तर त्यही पार्टीभित्र प्रधानमन्त्रीका दाबेदार धेरै छन् ।

सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्मले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् । गठबन्धनभित्रका अन्य दलको मनसाय कार्यकाल भागबन्डा गर्ने देखिन्छ । त्यही कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेलाबेलामा आफू अन्तिम पटक मुलुकको कार्यकारी हुने चाहना व्यक्त गर्दै आएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसमेत च्याँखे थाप्न तयार देखिन्छन् । तर उनीहरु गठबन्धनमा हुनसक्ने उतारचढावलाई हेरेर अहिले नै मुख खोलिसकेका छैनन् । त्यही कारण कांग्रेसबाहेक गठबन्धन दलका नेताहरु प्रधानमन्त्रीको विषयमा अहिले नै छलफल गर्न तयार छैनन् ।

अहिले नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाँदा चुनावपछि बन्ने समीकरणमा समेत असर पर्न सक्ने भय गठबन्धनमा पाइन्छ । एमालेले भने गठबन्धनमा जसरी पनि फुट ल्याउने र त्यसको फाइदा लिने रणनीतिअनुसार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मनोवैज्ञानिक दबाब दिएको देखिन्छ ।