
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलमा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।
साढे १३ लाखभन्दा बढीको सुन तथा चाँदीका गहना चोरी
काठमाडौं महानगरपालिका–१६ म्हेपी डेरा गरी बस्ने हरिमाया श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका गहना चोरी भएको छ ।
उनको कोठाबाट करिब १३ लाख ६४ हजार ६५० रूपैयाँ मूल्य बराबरको गरगहना बिहीबार साँझ चोरी भएको प्रहरीले जनाएको छ ।
कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरू पछाडीको झ्यालबाट कोठाभित्र पसेर दराज फोडेर गरगहना चोरी लगेको प्रहरीले बताएको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।