२१ असार २०८२, शनिबार

दलीय समीकरणको असर केन्द्रदेखि प्रदेश सरकारसम्म

jasapa 4 mantri pad dharap

आसन्न निर्वाचनका लागि बनेका दलीय समीकरणको असर केन्द्रदेखि प्रदेश सरकारसम्म परेको छ । सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी जसपाले सरकार भने छाडेको छैन । नत प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्रीहरुलाई हटाउने आँट नै गरेका छन् । त्यसो त मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारमा सत्ता गठबन्धन दल सामेल छन् । एउटै दल सत्ता र विपक्षमा कसरी हुनसक्छ ?

अहिलेको सत्ता गठबन्धनसँग एक वर्ष ३ महिना सहकार्य गरेको जनता समाजवादी पार्टी जसपाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सिटमा कुरा नमिल्दा विपक्षी एमालेसँग तालमेल गरेको छ ।

एमाले प्रतिगमनकारी शक्ति भएको र संविधान जोगाउन अर्को सरकार नबन्दासम्म गठबन्धनको विकल्प नदेखेको जसपाले अहिले चुनावमा उसैसँग कुम जोडेको हो । तर संघीय सरकारमा जसपाका ३ मन्त्रीले राजीनामा दिएका छैनन् । बरू सरकारी सेवा सुविधा सहित चुनावी प्रचारमा लागेका छन् ।

त्यसो त मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारमा सत्ता गठबन्धन दलहरू सहभागी छन् । त्यहाँ १४ मध्ये आधाभन्दा बढि मन्त्री सत्ता गठबन्धन दलका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी दलका मन्त्रीले पनि राजीनामा दिएका छैनन्, नत मुख्यमन्त्रीले हटाएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा जसपाका एक मन्त्री छन् । तर कसैले पनि नैतिकताका आधारमा सरकार छाडेका छैनन् । यस्तो प्रवृति नैतिक र लोकतान्त्रिक दुबै हिसावले गलत हो ।

२०७४ सालको निर्वाचनमा एमालेसँग मिल्न पुगेपछि सत्तामा रहेको माओवादी केन्द्रलाई देउवा नेतृत्वकै तत्कालिन सरकारले भूमिकाहिन बनाएको थियो। पछि माओवादीले सरकार छाडेको थियो । अहिलेको अवस्था पनि त्यस्तै छ । एउटै दल सत्ता र विपक्ष दुबै तर्फ हुने अवस्था लोकतन्त्रमा परिकल्पना गरिँदैन् । यो त लोकतान्त्रिक विधि र पद्धतिकै उपहास हो ।