
म्लाको चङ्खेली ६ मेल्छाममा पहिरोमा परेर एकै परिवारका ४ जनाको निधन भएको छ भने कालिकोटमा मलामी गएका १५ जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका छन् ।
गएराति खाना खाइरहेको समयमा पहिरो झर्दा ४ जनाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । ५५ वर्षका तुलसा कामी, ९ वर्षका सुस्मिता कामी, ५ वर्षका बबन कामी र ३ वर्षका होइजाली कामी रहेको प्रहरीको भनाइ छ ।
स्थानीयबासीको सहयोगमा देउच्या कामी, उहाँका श्रीमती अबकती, छोरीहरू निरू, ममिता र एक वर्षको छोरालाई उद्दार गरिएको थियो । उनीहरूको मेल्छाम स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी चौकी मेल्छामले जनाएको छ ।
यस्तै कालिकोटमा मलामी गएका १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सीआईएनसँग कुराकानी गर्दै केही बेरमा प्रहरी घटनास्थल पुगेपछि वास्तविक विवरण खुल्ने बताउनुभयो ।
उहाँका अनुसार हिजो साँझ करिब ५ बजेको समयमा स्थानीय एक युवकको मलामीका लागि मानिसहरू कुकुरखोल्सी भन्ने स्थानमा गएका थिए । तीमध्ये केहीलाई खोलाले बगाएको भन्दै स्थानीयबासीले प्रहरीमा खबर गरेका थिए ।
बेपत्ता भएकाको सङ्ख्या १५ हो वा २० भन्ने पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । लगातारको पानीका कारण घटनास्थल आसपास टेलिफोन सम्पर्क गर्न समस्या भएका कारण पनि विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।