१८ बैशाख २०८१, मंगलवार

कति सहज इलाम-१ बाट अन्तिम पटक चुनाव लड्ने दाउमा रहेका झलनाथलाई ?

Jhalanath Khanal
फाइल फोटो

झलनाथ खनाल नेपाली राजनीतिमा परिचित नाम हो । नेकपा मालेबाट एमाले हुँदै अहिले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै आउनुभएको छ ।

अन्तिम पटक चुनाव लड्ने दाउमा रहेका खनाल सत्तारुढ गठबन्धनको साझा उम्मेद्वार बन्ने लयमा देखिएपनि जित्न भने चुनौती छ ।

इलाम क्षेत्र नम्बर १ मा पछिल्लो समय झलनाथ खनालको उपस्थिति बाक्लिँदै गएको छ । तर, यो पटक खनालको उपस्थितिको कारण र भूमिका पाँच वर्षमा फेरिएको छ । एमाले वरिष्ठ नेताको हैसियतमा चुनावमा होमिँदै आउनुभएका खनाल यो पटक नेकपा एसबाट चुनावमा होमिँदै हुनुहुन्छ । ६ पटक चुनाव लडेका खनालसँग पाँच जीत र एक हार ब्यहोरेको अनुभव छ ।

झलनाथ खनालले इलाम–१ बाट लडेका कुन चुनावमा के भयो ?
–२०४८ मा एमालेबाट उम्मेदवार, २५ हजार ५ सय ४० मतसहित विजयी
–२०५१ मा एमालेबाट उम्मेदवार, १४ हजार ३ सय ८३ मतसहित विजयी
–२०५६ मा एमालेबाट उम्मेदवार, कांग्रेसका बेनुप प्रसाईंसँग एक सय ६ मतान्तरले पराजित
–२०६४ मा एमालेबाट उम्मेदवार, १७ हजार ६ सय ५५ मतसहित विजयी
–२०७० मा एमालेबाट उम्मेदवार, १७ हजार ३ सय ४२ मतसहित विजयी
–२०७४ मा एमालेबाट उम्मेदवार, ३६ हजार ८ सय ५ मतसहित विजयी

यो आँकडाले कुनैबेला प्रभावशाली नेता मानिनु हुने खनालको आफ्नै क्षेत्रमा अहिले ओझ र प्रभाव घट्दो छ । एमालेको नेतृत्व गरेका व्यक्ति नै पार्टी फुटाएर नयाँ पार्टीमा जाँदा आफ्नै क्षेत्रमा रहेका एमाले कार्यकर्तालाई फकाउन उहाँलाई चुनौती छ ।

पार्टीगत मत कमजोर रहेको क्षेत्रमा प्रतिस्पर्धी बन्नु उहाँका लागि कम जोखिम भने छैन । उहाँलाई अहिलेसम्म गठबन्धनकै भर छ । उहाँविरूद्ध एमाले फुटाएको आक्रोश पनि उत्तिकै छ । यही आक्रोशलाई अन्त्य गर्दै मतदाता रिझाउन खनाल शिलान्यास र कार्यक्रममा इलाममै व्यस्त हुनुहुन्छ ।

स्थानीय तहको मत विश्लेषण गर्दा खनाल कमजोर उम्मेदवार हो । यहाँ सत्ता गठबन्धनको एक घटक कांग्रेस मात्र बलियो छ । कांग्रेसकै उम्मेदवारसँग चिरप्रतिद्वन्द्वी खनालका लागि कांग्रेस कार्यकर्ता फकाउन सहज छैन । मतदाता पनि खनालले डबल ह्याट्रिक गर्नेमा ढुक्क हुनसकिरहेका छैनन् ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा इलाम १ अन्तर्गतका वडामा वडा अध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतमा एमाले अगाडि छ । तर खनाल स्थानीय तह निर्वाचनको मतलाई आधार मान्न नहुने तर्क गर्नुहुन्छ ।

नेकपा एमालेले खनालविरुद्ध कसलाई उम्मेद्वार बनाउँदै छ, टुंगिएको छैन । यद्यपी, जिल्ला अध्यक्ष महेश बस्नेत भने एकल सिफारिसमा पर्नुभएको छ। खनालसँग आक्रोशित मत पनि एमालेमै जाने भय उत्तिकै छ भने गठबन्धनको पूर्ण साथ मिल्नेमा पनि विश्वस्त हुने ठाउँ छैन ।