१८ बैशाख २०८१, मंगलवार

व्यक्तिवादी र भ्रष्टिकरणको प्रवृत्ति हाबी भएसम्म सिद्धान्तका ठूला कुराले केही हुँदैन : नेपाल

Madhav Kumar Nepal

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा समाजवाद ल्याउन कम्युनिस्टहरूले यथार्थताको धरातलमा टेक्न पर्ने बताउनुभएको छ ।

मार्क्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौंमा आयोजना गरेको ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपाल समाजवाद कल्पनावादी, रोमाञ्चकता वा भावनाले आउने विषय नभएको बताउनुभयो ।

नेपाली समाजवादको यथार्थतालाई बुझ्ने, मनन गर्ने र वास्तविक धरातलमा उभिएर निकालिने निष्कर्षले समाजवादको यात्रा प्रारम्भ गर्ने उहाँको भनाइ छ।

‘समाचारको शीर्षकमा मिटरब्याजीहरुले अत्याचार गरेर जनताको बेहाल बनाएको देख्छौं। बलात्कारीहरूको हालीमुहाली चलेको देख्छौं। विदेश जान ऋण लिने र त्यो ऋण तिर्न नसक्दा हरिबिजोग भएको देख्छौं।

यी सबै देख्दा हाम्रो मन पोल्न पर्ने हो,’ उहाँले भन्नुभयो , ‘यसले पनि हामी समाजवाद प्रति कति प्रतिबद्ध छौं भन्ने देखाउँछ। हामी सरकारमा रहँदा गर्‍यौँ ? त्यसकारण यथार्थताको धरातलमा नटेकेर यथार्थतालाई परिवर्तन गर्न सकिँदैन।’

समाजवाद ल्याउने दृष्टिकोण मार्क्सवादसँग मात्र रहेको उनको दाबी छ। मार्क्सवाद भन्दा बाहिरबाट समाजवाद आउने कुरा सम्भव नरहेको भन्दै अध्यक्ष नेपालले ‘मार्क्सवाद भनेको जडसुत्रतावाद होइन। माला जप्ने सिद्धान्त होइन। मार्क्सवाद परिवर्तनको सिद्धान्त हो।

यथार्थतामा टेकेको सिद्धान्त हो। यथार्थताको धरातलमा नटेकेर यथार्थतालाई परिवर्तन गर्न सकिँदैन,’ नेपालले भन्नुभयो , ‘हामीले दुई कुरालाई ख्याल गर्नुपर्छ। तथ्यबाट सत्यमा पुग्ने कुरा, तथ्य भनेको यथार्थतालाई महसुस गर्ने कुरा हो। यथार्थताले हामीलाई एउटा निष्कर्षमा पुर्‍याउँछ। यो मार्क्सवादी सिद्धान्तले निर्देश गर्छ।’

समाजवाद ल्याउन क्रान्तिकारी पार्टी चाहिने भन्दै तर, नेपालको कम्युनिष्ट आन्दोलनमा व्यक्तिवादी प्रवृत्ति र भ्रष्टिकरणको प्रवृत्ति देखिएकाले समाजवादी यात्रा कठिन बनेको उहाँको भनाइ छ। ‘समाजवाद ल्याउनको लागि क्रान्तिकारी पार्टी चाहिन्छ। कम्युनिष्ट पार्टी नै चाहिन्छ। मार्क्सवाद र लेनिनवाद नै चाहिन्छ।

वर्गीय दृष्टिकोणले ओतप्रोत भएका, त्यसप्रति प्रतिबद्ध भएका नेता र कार्यकर्ता चाहिन्छ,’ उहाँले भन्नुभयो , ‘तर, नेपालको कम्युनिष्ट आन्दोलनमा खराब प्रवृत्ति देखा परे। व्यक्तिवादी प्रवृत्ति र भ्रष्टिकरणको प्रवृत्ति हाबी भयो। यी दुई प्रवृत्ति रहुन्जेल सिद्धान्तका ठूला ठूला कुरा गरेर पनि केही हुँदैन।’

उहाँले भ्रष्टिकरणले नेपालमा दलाल पुँजीवादको संरक्षण गरिरहेको भन्दै नेपाली कम्युनिष्ट नेता कार्यकर्ताहरू राष्ट्र, समाज र जनताप्रति समर्पित हुन आवश्यक रहेको बताउनु भयो ।

यदि त्यसो भएन भने जनताले साथ नदिने उहाँको भनाइ छ। ‘गैर राजनीतिक चरित्र हाबी भएको छ। क्रान्तिकारी र प्रगतिशील छँदै छैन। जनता राष्ट्र र समाजप्रतिको जिम्मेवारी बोधको भावना नै छैन। लोकतन्त्रका मूल्य मान्यताप्रतिको आत्मसाथिकरण छैन।

उक्त विषयमा हामीले आत्म चिन्तन गर्नुपर्नेछ,’ उहाँले बताउनुभयो , ‘राष्ट्र, समाज र जनता प्रति समर्पित छैनन्, उनीहरूको मुक्तिका निम्ति लाग्दैनन्, पीडा र समवेदनालाई सम्बोधन गर्ने काममा अगुवाइ गर्दैनन् भने जनताले साथ दिन सक्दैनन्।’