१८ बैशाख २०८१, मंगलवार

थारु समुदायमा अटवारी पर्वकाे रमझम

थारु समुदायमा अटवारी पर्वकाे रमझम

मोहन जोशी
धनगढी, १२ भदौ । तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायले आज ‘अटवारी’ पर्व मनाइ रहेका छन् । 

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरसहित दाङ, बाँके र बर्दियामा बसोवास गर्ने चौधरी डगौरा समुदाय निकै उत्साहपूर्वक मनाइन्छ । 

यो समुदायमा आइतबारलाई ‘अटवार’ ले चिनिन्छ । यसकारणा आज (आइतबार) यो पर्व प्रारम्भ हुन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पछिको पहिलो आइतबार प्रारम्भ हुने यो पर्वमा नाचगान एवं सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ । 

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका मानिस अटवारी पर्वपछि भने कामको बोझ हटेर फुर्सद हुने र यही फुर्सदलाई सदुपयाेग गर्दै टोलटोलमा सँस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्छन् । 

अटवरी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

यसअघि १९ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, तिथिअनुसार अटवरी पर्व १२ भदौमा पर्ने भएकाले सोही दिन सार्वजनिक बिदा दिएकाे थारु कल्याणकारिणी सभा (थाकस)ले जनाएकाे छ । मिति संशोधन गरी प्रदेश सरकारले १२ भदौमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको हो ।

अटवरी थारु समुदायको मौलिक पर्व हो । अटवरी पर्वमा थारु समुदायले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाई भीमको श्रद्धापूर्वक पूजाआजा गर्छन् ।  

ऐतिहासिक पक्ष
किंवदन्तीअनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबर्जस्ती गर्ने गरिरहेकाे थियाे । उक्त राक्षसलाई मारेर ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अटवरी पर्व मनाउने प्रचलन सुरु भएकाे हाे । 

    सम्बन्धित समाचार...