
अघिल्लो स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमालले यो पटकको अहिलेसम्मको परिणामलाई सहज रुपमा स्वीकार गरेको देखिदैन ।
चुनाव अघि देश दौडाहा गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आलोचना मात्रै हैन, एक्लै जितेर देखाइदिने भन्ने गरेका थिए ।
तर आफूले भनेजस्तो परिणामको संकेत नदेखेपछि एमालेले चुनावमा राज्यसत्ताको दुरुपयोग गरिएको आरोप लगाएको छ ।
जबकि यसबारे पनि उसले निर्वाचन हुँदा वा मतगणनाको दोश्रो दिनसम्म मुख खोलेको थिएन।
निर्वाचन परिणाम आफ्नो पक्षमा देखिएपछि नेपाली कांग्रेस भने उत्साही देखिएको छ । किनभने उसले एक्लै अहिलेसम्म जित र अग्रता दुबैमा एमालेलाई पछि पारेको छ ।
कांग्रेसले परिणामलाई सत्ता गठबन्धनकै सफलताका रुपमा अर्थाएको छ ।
सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्र पनि परिणाम प्रति खुसी नै देखिएको छ ।
पार्टी कमजोर हुँदा पनि आफ्नो विगतको शाख जोगिने देखिनुले माओवादीलाई केही राहत भएको छ । तर केही पालिकामा गठबन्धन हुँदा पनि आफ्नो पक्षमा त्यस अनुसार मत नपाएपछि उसले नेपाली कांग्रेस पुरै इमान्दार नभएको अर्थ लगाएको छ ।
गठबन्धनमै रहेका जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी भने गठबन्धन अनुसार मत नपाएको बुझाईमा छन् ।
आफ्ना उम्मेदवार गठबन्धनभित्रै भए पनि हार्नुपर्ने परिस्थिति बन्दै गएको प्रति जसपा र एकीकृत समाजवादी सन्तुष्ट देखिदैनन्।
समग्रमा हेर्दा अहिलेसम्म सार्वजनिक भएको परिणाम भने गठबन्धनको पक्षमै देखिएको छ ।