१५ कार्तिक २०७७, शनिबार

प्राविधिक शिक्षाले फेरियो बिमवासीको जीवनस्तर

पश्चिम म्याग्दीको एउटा विकट गाउँ छ बिम । जिल्ला सदरमुकाम बेनी आएर घर फर्किन त्यहाँका बासिन्दालाई दुई दिनको समय छुट्याउनु पर्दथ्यो । गाउँमा नयाँ मान्छेको मुखसमेत देख्न नपाइने त्यस ठाउँमा विकासका कुनै पूर्वाधार थिएनन् । स्थानीय बासिन्दा परम्परागत खेतीपाती, युवाहरु मुग्लान र वृद्धवृद्धा बनिबुतो गरेर जीविका चलाउँथे । मालिका गाउँपालिका–७ मा पर्ने यो गाउँको अहिले भने कायापलट भएको छ ।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङ बजारबाट अहिले ४५ मिनेटमा नै सररर् ट्याक्सीमा पुग्न सकिने यो गाउँको भाग्योदय भने २०६८ सालपछि भएको हो । त्यहाँ सञ्चालित किसानी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा दिन थालिएपछि २१ जिल्लाका विद्यार्थी बिममा आउन थालें । २०६८ सालमा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटीए र २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रीकल्चर (बाली विज्ञान) र तीनवर्षे पशु विज्ञान तहको पठनपाठन शुरु भएपछि गाउँको मुहार नै फेरिएको छ ।

“प्राविधिक शिक्षा शुरु भएपछि यहाँ विकासको लहर नै चल्यो”, स्थानीय दलबहादुर जुग्जालीले भन्नुभयो, “सडक आयो, नयाँनयाँ भवन बने, घरघरमा खानेपानीको धारा पुग्यो, यहाँ उत्पादन भएको कृषि उपज यहीँ नै विक्री हुन थाल्यो, आनन्दै भयो ।” मगर समुदायको बाहुल्यता रहेको बिम गाउँमा अहिले विदेश जाने पासपोर्ट छोडेर कोदाली, खुर्पा र हलो समाउन युवा हातले जाँगर देखाउने गरेका छन् । गाउँका सबै घरमा सुन्तलाका बोटहरु झुलेका छन् । त्यहाँ फलेका रसिला सुन्तला विक्री गरेर आएका पैसाको बिटोले युवा र वृद्धवृद्धाको मुहारलाई उजिल्याइदिएको छ ।

बिमको कृषि प्राविधिक शिक्षालयमा १८ महिने जेटीएको अध्ययन सकेर अहिले मङ्गला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलङ्गाकी जानुका बडाललगायत ५० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनुका साथै व्यक्तिगतरुपमा नै कृषि फार्म सञ्चालन गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।

“नौ वर्षको छोटो अवधिमा नै बिममा सञ्चालित कृषि प्राविधिक शिक्षालयले धेरैको भविष्य सुन्दर बनाइदिएको छ” मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले भन्नुभयो, “सबैभन्दा बढी फाइदा त बिम गाउँलाई नै भएको छ, पहिला पहिला सुनको खोजिमा विदेशिने त्यहाँका युवाहरु अहिले आफ्नै माटोमा सुन (सुन्तला, गोलभेडा) फलाउन सक्ने भएका छन् ।”

कृषि प्राविधिक बानियाँको भनाइसँग बिमका वडाध्यक्ष रेशम जुग्जाली पनि सहमत हुनुहुन्छ । उहाँले भन्नुभयो, “केही वर्षयता यहाँका बासिन्दा कृषिबाट पनि धेरै आम्दानी गर्न सकिँदोरहेछ भन्ने कुरा बुझ्न थालेका छन् । व्यावसायिक कृषिमा रहरलाग्दो प्रगति हुँदै गएको छ, विकास र पूर्वाधार पनि बन्न थालेका छन् । जनताको जीवनस्तर सुधार हुँदै गएको छ ।”

जेटीए र बाली विज्ञानको पठनपाठन हुँदै आएको यस शिक्षालयले २०७५ सालमा भेटेरिनेरी डिप्लोमा इन एग्रीकल्चर (पशु विज्ञान) कोसमेत अनुमति पाएपछि अहिले जेटीए, बाली विज्ञान र पशु विज्ञान अध्ययन गर्न विद्यार्थी टाढाटाढाबाट समेत यहाँ आएका छन् । शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगाएत २१ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक करन कडेलले बताउनुभो ।

संयोजक कडेलका अनुसार जेटीए र आईएससी (एजी) विषयमा १२८ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ७३ छात्रा र ५५ छात्र रहेका छन् । उहाँले थप ३२ विद्यार्थी नयाँ भर्नाका लागि सम्पर्कमा आइसकेका छन् । नयाँ भर्नाको अन्तिम मिति असोज २५ गतेसम्म रहेको उहाँको भनाइ छ ।

आकर्षक भौतिक पूर्वाधार: प्राथमिकतामा गुणस्तर

जिल्ला सदरमुकामदेखि टाढाको एउटा गाउँमा स्थानीय शिक्षासेवीकै पहलमा आजभन्दा करिब एक दशक अघि जिल्लामा नै पहिलो पटक स्थापना भएको किसानी प्राविधिक शिक्षालयलको अहिले कायापलट भएको छ ।

भौतिक पूर्वाधार निर्माणले आकर्षक देखिएको शिक्षालयमा गुणस्तरलाई पहिलो प्राथमिकता दिइएको र यहाँ पढेर गएका ६० प्रतिशतभन्दा बढी विद्यार्थी सरकारी वा अन्य विभिन्न निकायमा संलग्न भई रोजगारी प्राप्त गरेका शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्वुजाले बताउनुभयो । उहाँका अनुसार यहाँ पछिल्लो समय लायन्स क्लबको आर्थिक सहयोगमा रु दुई करोड ५० लाखको लागतमा आठकोठे दुईतले सुविधा सम्पन्न भवन निर्माण भएको छ ।

गत चैतमा निर्माण सम्पन्न भएको उक्त भवनका साथै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट रु ७० लाखको चारकोठे दुईतले सुविधा सम्पन्न भवन पनि थपिएको छ । त्यसैगरी १४ कोठासहितको सुविधा सम्पन्न अन्य दुई वटा भवन पनि निर्माण सम्पन्न भैसकेका छन् भने ३३ कोठाको सुविधासम्पन्न छात्रवास भवन पनि निर्माण भएको छ । छात्र र छात्रालाई छुट्टाछुट्टै छात्रावास भवन बनाइएको छ । विद्यालयमा पछिल्लो तीन वर्षयता रु चार करोडभन्दा बढीको पूर्वाधार निर्माण भएको प्राचार्य गर्बुजाले जानकारी दिनुभयो ।

छात्राको आकर्षण बढी

मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सञ्चालन भएको कृषि प्राविधिक शिक्षालयमा छात्रको तुलनामा छात्राको आकर्षण बढ्दै गएको छ ।

आईएससी (एजी) तेस्रो सेमिस्टरमा अध्ययनरत पर्वतकी गरिमा नेपालीले नेपाल कृषि प्रधान देश भए पनि अधिकांश जग्गामा व्यावसायिक रुपमा खेती नगरिँदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि कृषकहरुलाई परम्परागत तरिकाले होइन, आधुनिक प्रविधिको प्रयोग गरी व्यवसायिक रुपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयमा आकर्षित भएको बताउनुभयो ।

अझै पनि कृषि पेशा परम्परागत तरिकाले गरिँदै आइएको र आफूले कृषि पढेर जेटीए बनेपछि आधुनिक रुपमा व्यावसायिक कृषि पेसा सिकाउने उद्देश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको जेटीएमा अध्ययनरत जमुना घिमिरेले बताउनुभयो । विद्यार्थीलाई प्रयोगात्मक विधिद्वारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको शिक्षालयका प्रमुख गर्वुजाको भनाइ छ ।

जिल्लाको दुर्गम गाउँमा सञ्चालित व्यावसायिक शिक्षालयमा कृषि विषय अध्ययन प्रति छात्राको बढ्दो आकर्षणलाई दीगो राख्नका लागि प्रयोगात्मक शिक्षण पद्धतिमा ध्यान दिनुका साथै शिक्षा लिइसकेपछि उनीहरुलाई रोजगारीको ग्यारेन्टी हुन आवश्यक देखिएको स्थानीयवासीको भनाइ छ । शिक्षालयमा अझै गुणस्तर कायम गर्दै भोलिका दिनमा देशमा आवश्यक पर्ने कृषि जनशक्ति यही जिल्लामा उत्पादन गर्ने र त्यसका लागि प्रयोगात्मक विधि अपनाउन शिक्षालयमा नै बङ्गुरपालन, भैँसीपालन, कुखुरापालन र बाख्रापालनलाई विशेष जोड दिइएको संयोजक कडेलले जानकारी दिनुभयो ।

नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । बिमका अतिरिक्त गलेश्वर मावि तोरीपानीमा सिभिल इञ्जिनीयरिङ र मङ्गला माध्यमिक विद्यालय बाबियाचौरमा बाली विज्ञान तहको पढाइ हुँदै आएको शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीले जनाएको छ ।

टोलटोलमा पुगेर घुम्ती कक्षा सञ्चालन

कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जाँदा स्वास्थ्य जोखिमका कारण विद्यार्थीलाई विद्यालयमा बोलाएर अध्यन÷अध्यापन गराउन नसकिएकाले म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश मावि र बेनी सामुदायिक माविले विद्यार्थीलाई पायक पर्ने ठाउँमै पुगेर घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

लामो समयसम्म विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुन नसके पनि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले विद्यार्थीका नजिक पुगेरै पठनपठानलाई निरन्तरता दिन थालेका हुन् ।

बेनी सामुदायिक माविले अहिलेसम्म विद्यालय सेवा क्षेत्र भित्रका २० भन्दा बढी ठाउँमा पुगेर घुम्ती कक्षा सञ्चालन गरेको र त्यसबाट ५०० बढी विद्यार्थी लाभान्वित भएको विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयसम्म विद्यालय बन्द भएपछि घरमा बसेका विद्यार्थीलाई अनुकूल हुने स्थानमै कक्षागत शिक्षक पुगेर पढाइ शुरु गरिएको प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले जानकारी दिनुभयो । “लकडाउनकै अवधिमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गरिरहेका थियौँ, यो अभियानले निरन्तरता पाउँछ”, प्रअ सुबेदीले भन्नुभयो । अभिभावक र विद्यार्थीलाई कोरोनाबाट जोगिने सुरक्षाका उपायका साथै कक्षा सञ्चालन अगाडि सेनिटाइजरको समेत प्रयोग गर्ने गरिएको छ ।

इन्टरनेट, टेलिभिजनको पहुँचमा नभएका विद्यार्थीलाई लक्षित गरी पहिलो चरणमा पर्वतको मिलनचोक, लामाखेत, पर्वतबेनी, बौर क्षेत्रका साथै म्याग्दीको बेनी नगरपालिकाको डम्बरा, चुत्रेनी, खवरालगायत सेवा क्षेत्रभित्र आलोपालो पुगेर कक्षा लिने गरेको प्रकाश माविका शिक्षक नवीन घिमिरेले बताउनुभयो । उहाँका अनुसार इन्टरनेटको सुविधा भएका विद्यार्थीलाई गएको वैशाख महिनादेखि नै जुम, भाइबर र फेसबुकको म्यासेञ्जरबाट कक्षा सञ्चालन गरिएको छ ।

त्यस्तै बेनीबजार भित्रका बालबालिका विद्यालयमै पुगेरसमेत कक्षा लिने गरेको विद्यालयले जनाएको छ । बेनी नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई कोरोना शिक्षा दिएर वडास्तरमै जान निर्देशन दिएको छ । जिल्लाका अन्य सामुदायिक विद्यालयले समेत वैकल्पिक शिक्षण सिकाई अभियान सञ्चालन गरिरहेका छन् । विद्यालयका शिक्षक घरदैलोमै पुग्न थालेपछि अभिभावकसमेत उत्साहित भएका छन् ।