६ कार्तिक २०७७, बिहीबार

सिंघाराखेतीबाट किसान सन्तुष्ट

वर्षाले दुई पटकको धानबाली र एक पटकको रहरखेती खाइदिएपछि निरास र असहाय बनेका जलेश्वर नगरपालिका– ६ का श्रीचन मुखियाको अनुहारमा सिंघारा (फल) खेतीले खुशियाली ल्याएको छ ।

वर्षा र बाढीका कारण खेतबारी डुुब्दा आर्थिकरुपमा कमजोर भइसकेका श्रीचन आफ्नो एक बिगाहाभन्दा बढी खेतमा लगाएको सिंघाराखेतीले राम्रो उब्जनी दिएपछि अहिले भने खुशी हुनुहुन्छ । उहाँले आफूले गुमाएको सबै क्षति अहिले सिंघारा बेचेर प्राप्त भइरहेको बताउनुहुन्छ ।

मनसुन आउनुभन्दा पहिलेदेखि नै जिल्लामा परेको पानीले यसपाली राम्रो धानबाली हुने आशाले जलेश्वर नपा– ८ का अरुण पाण्डेले पनि डेढ बिगाहा बढी जग्गामा धानखेती गर्नुभएको थियो । धानबाली राम्रो सप्रेको पनि थियो । तर लगातारको वर्षाले उहाँको पनि खेती डुबानमा पा¥यो, हजारौँको क्षति भयो ।

डुबानमा परेको खेतमा अरुले सिंघारा लगाएको देखेर आफूले पनि सिंघारा रोप्नुभयो । अहिले यो खेतीले राम्रो उब्जनी दिएपछि उहाँ पनि दङ्ग पर्नुभएको छ । प्रत्येक दुई÷तीन दिनमा पाँचदेखि सात हजारको सिंघारा बेच्ने गरेको उहाँ बताउनुहुन्छ ।

जलेश्वर नपा–२ बस्ने शङ्कर कापरले हजाराँै खर्चेर लगाएको धानबाली बाढीले नष्ट गरिदियो । त्यसपछि सिंघारा खेतीतर्फ लाग्नुभएका उहाँ पनि राम्रो आम्दानी गर्न सफल भएको बताउनुहुन्छ । यी तीन जना किसानबाहेक पनि अहिले जलेश्वर नगरपालिका र वरपरको पानी जमेको खेत र खाल्डाखुल्डीमा सिंघाराखेती गरेर राम्रो आम्दानी गर्न दर्जनाँै किसान सफल भएका छन् । प्रायः प्रत्येक वर्ष डुबानको जोखिममा रहेको जलेश्वर क्षेत्रका किसानको थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएकोले पछिल्लो केही वर्षदेखि सिंघारा खेतीतर्फ आकर्षण बढेको छ ।

धानखेती र अन्य बालीभन्दा यसमै मनग्य आम्दानी हुने देखेपछि अहिले महोत्तरीको सदरमुकाम जलेश्वर र वरिपरिका सयाँै बिगाहा पानी जमेको जग्गामा सिंघाराखेती गरिएको छ । जमेको पानीमा लहरामा फल्ने सिंघारा एक प्रकारको गुलियो र स्वस्थ फल हो । काँडेदार र गुलाफी रंगको सुन्दर देखिने यो फल मीठो र पौष्टिक पनि हुन्छ । त्यसैले पछिल्लो समय निकै लोकप्रिय रहेको छ ।

यस वर्ष जिल्लामा पटकपटक भएको भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलोमात्रामा सिंघाराखेती गरिएको छ । कम मेहनत र थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले जलेश्वर र वरिपरिका धेरै किसान यसपाली सिंघाराखेतीतर्फ आकर्षित भएको जलेश्वर १२ का किसान रामजी रायले बताउनुभयो ।

वर्षौंदेखि बाढी र वर्षाको पानीका कारण वर्षभरि नै जलाशय बनिरहने स्थानमा यस वर्ष एक सय बढी किसान परिवारले सिंघाराखेती गरेको जलेश्वर नपा– ३ का किसान सिरिया बिनले बताउनुभयो ।

मीठो र लोकप्रिय सिंघारा प्रत्येक वर्ष असोज महिनादेखि नै तयार हुन्छ भने स्थानीय बजारमा प्रतिकिलो फलको आकार हेरी कम्तीमा रु ४० देखि बढीमा रु १०० सम्ममा बिक्री हुने गरेको र यसबाट आफूहरुले प्रत्येक वर्ष लाखौँ आम्दानी गर्ने गरेको जलेश्वर ५ का किसान बुधवा केवटले बताउनुभयो ।

मिथिलाञ्चलभरि पूजाआजामा प्रसादका रुपमा समेत प्रयोग हुने सिंघारा बालबालिका, बुढापाका र पेटका रोगीहरुले बढी मन पराउने गर्दछन् । सिंघारा खेतीमा लागेको किसान स्थानीय बजारदेखि सीमापारीका भारतीय बजारमा लगेर पनि बेचेर प्रतिकिसान रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको जलेश्वर नपा– २ का किसान भरत चौधरी बताउनुभयो ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशंकर साहले सिंघारा खेतीलाई प्रवद्र्धन गर्नुपर्ने र मौसमी उद्योगकैरुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । जलेश्वर नपा क्षेत्रको सयौँ बिगाहा जलाशयमा गरिएको सिंघारा खेतीबाट राम्रो आम्दानी हुने गरेको देखेर अहिले जिल्लाको अन्य नगरपालिका र गाउँपालिकामा पनि सिंघारा खेती गर्ने किसान बढ्दै गएका छन् ।

बाढी र वर्षाको प्रत्यक्ष मारमा पर्ने जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित मटिहानी नगरपालिका, पिपरा गाउँपालिका, एकडारा गाउँपाकिला र मनरा नगरपालिका क्षेत्रमा पनि सिंघारा खेती हुन थालेको बुझिएको छ । शुरुमा प्राविधिक ज्ञान नभएर कसरी लगाउने, कति लगाउने र कहाँ लगाउने भन्नेबारेमा थाहा नभएको एकडारा गाउँपालिकाका किसानले राम्रोसँग खेती नभएको र आम्दानी पनि खासै नभएको गुनासो गरे पनि अहिले विस्तारै सिंघारा खेती गर्ने किसान बढ्दै गएको स्थानीय पत्रकार गोपाल झाले बताउनुभयो ।

त्यस्तै प्राविधक ज्ञानकै अभावमा एक÷दुई वर्ष राम्रो उब्जनी गर्न असफल रहेका मनरासिस्वा नगरपालिका–१० का किसान पनि अहिले जलेश्वर र वरपरका किसानले सिंघाराखेती गर्ने गरेका तरिका सिकेर राम्रो उब्जनी र आम्दानी गर्न सफल भएको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताउनुभयो ।

मटिहानी नगरपालिकाका किसान ज्ञानसीप नभएका कारण सिंघाराखेती गर्न आनाकानी गरिरहेका बेला बाढीले धानबाली नष्ट बनाइदिएपछि बाध्य भएर यसपालि गरेको सिंघारा खेती निकै सप्रिएर राम्रो फल दिएको र बिक्री हुन थालेपछि हर्षित भएको अर्का किसान शङ्कर मण्डलले बताउनुभयो ।

बढी आम्दानी गर्ने किसानले व्यावसायिकरुपमै खेत तथा जलाशयमा गरेको सिंघारा खेतीले राम्रो आम्दानी दिएपछि अहिले महोत्तरीस्थित नेपाल भारत सीमा र सडकका पेटीमा रहेका ससाना खाल्डाखुल्डीमा समेत यसको खेती थालेका छन् ।

सिंघारा खेतीले दिएको आम्दानीबाट अन्य आवश्यक अन्नबाली किन्न सहज भएको र आर्थिकरुपमा पनि सबल हुँदै गएको निष्कर्ष निकाल्दै यस क्षेत्रका सिंघारा खेतीमा लागेका किसानले सरकारले प्राविधिक सहयोग, आर्थिक अनुदान र अन्य सुविधा दिनुपर्ने माग गरेका छन् ।

    यो पनि...