४ कार्तिक २०७७, मंगलवार

फलामे साङ्लोले बाँधिएका उमाकान्तको जीवन मायाले बदलियो

उमाकान्तको जवानी गोठमा फलामे साङ्लोले बाँधिएरै बित्यो । उहाँकै अगाडि बाँधिएका पशुचौपाया बरु चर्न दिनदिनै बाहिर निस्किन्थे तर सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहा भवानीपुरका उमाकान्त चौधरीको हातमा लागेको साङ्लो खोल्न भने ठीक १२ वर्ष लाग्यो ।

श्रीमती सुशीलालाई कहिलेकाहीँ त खोलिदिउँ जस्तो पनि लाग्थ्यो । उहाँको मन कटक्क खान्थ्यो र खोलिदिउँ जस्तो लाग्थ्यो । तर सम्भावित दुर्घटनाको भयले बाँधेरै राख्नुपर्ने उहाँको पनि बाध्यता थियो । उमाकान्तको उपचारका लागि श्रीमती सुशीलाले धामीझाँक्री देखाउनुभयो अनि अस्पताल पनि निकै धाउनुभयो । अस्पतालबाटै भाग्ने, औषधि नखाने गर्नाले मानसिक रोग बल्झिँदै गएपछि उमाकान्तलाई बाँधेर राख्नु परिवारको बाध्यता बन्यो ।

उमाकान्तको अवस्थाबारे राससमा विसं २०७५ मङ्सिर २१ गते छापिएको “साङ्लोमै बित्यो उमाकान्तको जवानी” शीर्षकमा समाचार प्रकाशित भयो । त्यस समाचारपछि समाजका कुरा पुग्यो र उहाँको उद्धार गरी उपचार गर्न सकिन्थ्यो कि भनेर सहयोगी मनहरु लागे । उनै उमाकान्त चौधरी गतहप्ता सकुशल र स्वस्थ्य भएर घर फर्किंदा परिवार मात्र नभई गाउँमा नै खुशियाली छाएको छ । सहयोगी मनका मायाले यसरी फेरिदियो उमाकान्तको जीवन ।

घर बाहिर एउटा खाटमात्र अट्ने खुला सानो छाप्रो नै उहाँको संसार थियो । दिसापिसाब पनि त्यही छाप्रोभित्रै हुन्थ्यो । लट्टा परेको कपाल, औँलाका नङ निकै लामा । साङ्लोको डाम गढेर फलामको सिक्री मासुले नै पुरिएको थियो । उहाँको त्यो १२ वर्षे बसाइदेखि घरपरिवारका सदस्यलाई पनि टिठ त लाग्थ्यो, तर केही गर्न सक्दैनथे । उहाँको वरपर भएर पनि कोही गाउँले हिँड्दैनथे । बालबालिका उहाँलाई देखेर डराउँथे ।

क्षणभरमै रिसाउने, कराउने गर्नुहुन्थ्यो । मान्छेलाई देख्नासाथ छोप्नुहुन्थ्यो । ढुङ्गा फ्याँक्ने, जे भेट्यो त्यसैले हिर्काउने गर्न थालेपछि आजित भएर श्रीमतीकै आग्रहमा गाउँलेहरुले २०६३ सालमा हतकडी लगाएपछि ताला खोलिएको थिएन । हातमा साङ्लो बाँधिए पनि उहाँका अगाडि जान श्रीमती र छोरीहरुसमेत डराउनुहुन्थ्योे । “बुबा हाम्रै आँखा अगाडि त हुनुहुन्थ्यो तर हामीले बुबाको माया कस्तो हुन्छ भनेर महसुस गर्नै पाएनौँ”, छोरी सुस्मिताको अनुभव छ ।

गाउँलेहरुका अनुसार मानसिक रोगबाट पीडित उमाकान्तले एकपटक घाँस काट्ने हँसियाले खसीको गर्दन रेट्नुभयो र कान काटेर पोलेर खानुभयो । एकपटक आमा पल्टीदेवीको हात नै भाँचिदिनुभयो । बाटो हिँड्नेलाई लाठी, ढुङ्गाले हिर्काउने, छरछिमेक र परिवारमै पनि दुःख दिने गर्न थालेपछि बन्धक बनाएर राख्नु परेको भतिजी ललिता चौधरीले जानकारी दिनुभयो ।

उमाकान्त २० महिनापछि घर फर्किंदा साधारण तर सफा सेतो कपडामा देखिनुभयो । मिलाएर काटेको छोटो कपाल र चम्किलो अनुहार । पहिले उहाँको अगाडिबाट ओहोरदोहोर गर्न डराउने गाउँलेहरु अहिले फरक पहिरन र पहिचानका साथ आएका उमाकान्तसँग अहिले भने टाँसिए । उमाकान्तको स्वागतमा लामबद्ध भए । उहाँलाई उद्धार गरी उपचारको पहुँचसम्म पु¥याइदिने मानव सेवा आश्रमका अभियन्ताले दिएको माया र सम्मानले उमाकान्त पूरै बदलिए ।

राससलगायतका सञ्चारमाध्यममा समाचार आएपछि पत्रकार तथा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलको पहलमा मानव सेवा आश्रमले २०७५ मङ्सिर २२ गते उद्धार गरी चौधरीलाई उपचारका लागि हेटाँैडास्थित आश्रम लगेपछि उमाकान्तको जीवन बदलिएको हो ।

घरपरिवार र समाजमा दुःख दिन थालेको भन्दै १२ वर्षसम्म फलामे साङ्लोमा ताला लगाई बाँधेर राखेपछि मानसिक रोगी उमाकान्त थप हिंसात्मक बन्दै जानुभएको थियो । उपचार गराउन आर्थिक समस्याका साथै तीनवटी नाबालक छोरीलाई घरमा छाडेर अन्त जान पनि नसकिने अवस्था रहेको बताउने श्रीमती सुशीला र छिमेकी अनीलकुमार चौधरीले उद्धार र उपचारका लागि सहयोग मागेपछि पहल थालिएको थियो ।

बाह्र वर्षपछि खोलो पनि फर्कन्छ भनेजस्तै १२ वर्षपछि उमाकान्तको हातको हतकडी खुल्यो । उहाँको कपाल र नङ काटियो । टाउको र शरीरमा तेल घसियो । आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिनाले इन्सेक प्रतिनिधि पोखरेलसँग सम्पर्क गरी आवश्यक उपचार तथा स्याहार गर्ने भन्दै आश्रम लैजाने भनेकै भोलिपल्ट आश्रमका सचिव सुनम बर्तौला, अभियन्ता नवराज केसी, साधक सन्त लामासहितको टोलीले उमाकान्तलाई लिएर जानुभयो । उद्धारका बेला प्रतिनिधिसभा सदस्य सरिता गिरी, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दास, गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, वडाध्यक्ष सुशील चौधरी, इन्सेक सदस्य वैद्यनाथ झा, प्रदेश संयोजक राजु पासवान उपस्थित हुनुहुन्थ्यो ।

पारिवारिक पुनर्मिलन गराउन उमाकान्तलाई लिएर २० महिनापछि घर आएका आश्रमका अध्यक्ष रामजी अधिकारीले उमाकान्तलाई परिवारको जिम्मा लगाउँदै भन्नुभयो, “उमाकान्तमा आएको परिवर्तनको मुख्य कारण औषधोपचारभन्दा पनि माया र सम्मान हो ।” शरीरलाई भोजनको आवश्यकता भए झैँ हृदयलाई माया आवश्यक छ । प्रेमको अभावमा आत्मा भोकै हुन्छ तसर्थ सन्तुलित भोजनसँगै अन्तर्मनले उमाकान्तलाई प्रेम गर्न अध्यक्ष अधिकारीले गाउँले र परिवारसँग आग्रह गर्नुभयो ।

उमाकान्तलाई हेर्न उर्लिएका गाउँलेहरुले टीका, फूल र खादा लगाई दिँदा उमाकान्तले दुई हात जोडेर मुस्कानसहित नमस्कार गर्नुभयो । पुनर्मिलन कार्यक्रमकै लागि आउनुभएकी पूर्वमिस नेपाल तथा आश्रमकी भौतिक प्रवद्र्धन सल्लाहकार श्रृङ्खला खतिवडाले भन्नुभयो, “प्रेमविनाको जीवन असन्तुलित हुने भएकाले माया बाँडौँ, कसैलाई पनि दुव्र्यवहार नगरौँ ।” संसारै मायामा अडेकाले यहाँका सबै प्राणीबीचमा मायाको शीतल आँचल फहराउनुभन्दा ठूलो धर्म र शक्ति अरु नहुने उहाँले बताउनुभयो । औषधिले ठीक गर्न नसकेका मनोरोगी मायाले ठीक हुने भन्दै गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले माया र सम्मानकै अभावमा मानिस ‘डिप्रेशन’ को शिकारसमेत हुने बताउनुभयो ।

मानसिक रोग विशेषज्ञसहितको चिकित्सक टोलीले नियमित उपचार गरेपछि स्वस्थ हुनुभएका चौधरीलाई पारिवारिक पुनर्मिलन गराउँदा परिवारका सदस्य औधी खुशी देखिए । टीका र माला लगाइदिँदै काकी फुलेश्वरीले दियोको आरती उतार्नुभयो । पुनर्मिलन समारोहमा आएकी प्रदेशसभा २ की सदस्य रुवी कर्ण र यस वडाका कार्यवाहक वडाध्यक्ष तेजनारायण चौधरीले माला, गम्छा र खादा लगाइदिनुभयो ।

मानसिक रोगी उमाकान्तको अगाडि पर्न डराउने गाउँले स्वस्थ भएर फर्किएका उमाकान्तको स्वागतमा झुम्मिएका थिए । उमाकान्तले पुनर्जीवन पाएको खुशियालीमा स्थानीयवासी र गाउँपालिकाले मानव सेवा आश्रमका अध्यक्षलगायतका अभियन्ताहरु, इन्सेक प्रतिनिधि एवं पत्रकारलाई समेत गम्छा, माला लगाएर सम्मान गरे । सोही अवसरमा इन्सेक प्रतिनिधि पोखरेलले अनाथ, अशक्त, असहाय, अपाङ्गता भएका तथा मनोरोगीलाई संरक्षण र उपचार गर्दै आएको आश्रमका लागि सहयोगस्वरुप नगद रु १० हजार प्रदान गर्नुभयो ।

त्यसो त उमाकान्तसँग बढेको आत्मियताले आश्रमका अभियन्ता घर फर्काउन चाहदैनथे । उमाकान्तले परिवार र गाउँलेलाई पटकपटक सम्झिन थाले । घरपरिवारको अत्यास लागेका उमाकान्तले परिवारसँगै सक्रिय जीवन जिउनसक्ने ठहरका साथ पारिवारिक पुनर्मिलन गराएको आश्रमका जमिरमान श्रेष्ठले बताउनुभयो ।

पुनर्मिलनका अवसरमा छोरालाई देखेर ७० वर्षीया आमा पल्टीदेवीको भाव आँशुले झल्काएको थियो । आँगनमा आफ्नो छोराको आगमनको भव्य कार्यक्रम भइरहेका बेला उहाँका आँखा आँशुले भरिएका थिए । उहाँले अन्यत्र होइन, पटकपटक आफ्नै छोराको अनुहार मात्र हेरिरहनुभएको थियो ।

शुरुमा त छोरालाई देख्दा पनि उहाँको मुखबाट कुनै वाक्य फुटन सकेन । मनले सम्झिरहेको तर स्वस्थ्य भएर घर फर्किएला भन्ने आशा मार्नुभएकी पल्टीदेवीलाई सकुशल स्वस्थ्य भएर उमाकान्त घर फिर्दा शुरूमा सपनाजस्तै लाग्यो । टाउकोमा हात राखेर आशिर्वाद दिँदै आमा पल्टीदेवीले भन्नुभयो, “मनले आश मारिसकेको छोरा पुनःजन्मिएजस्तै भयो, अब मेरो छोरो सधैँ स्वस्थ भएर रहोस्, केही नहोस् ।”