१० आश्विन २०७७, शनिबार

राष्ट्रसंघ महासचिवद्धारा कोभिड १९ रोकथाममा सघाउन विश्व समुदायलाई आग्रह

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पुर्‍याउन विश्व समुदायलाई आग्रह गरेका छन ।

महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन ।

मंगलबार एक अन्तर्वार्तामा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण रहने बताए । विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा निरन्तर काम गरिरहेको जनाए ।

विश्व स्वास्थ्य संगठन र अरु निकायहरुले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पुर्‍याउनु विश्व समुदायको दायित्व भएको पनि उनको भनाइ छ ।

कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रीय प्रणाली पनि त्यसमा कार्यरत रहेको बताए । उनले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उहाँले सहयोगका लागि यो अपिल गरेका हुन ।