१० आश्विन २०७७, शनिबार

लघु चलचित्र प्रतियोगितामा ‘देशलाई छुने पाइला’ सर्वोत्कृष्ट

तस्विर: नेपाली सेना

नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७६ मा प्रशुन सिन्धुलियाले निर्माण गर्नुभएको ‘देशलाई छुने पाइला’ नामक लघु चलचित्र प्रथम भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रतियोगितामा सर्वोत्कृष्टा ठहरिएको उक्त चलचित्रका निर्माता सिन्धुलियालाई रु दुई लाख नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा पुरुषोतम बस्नेतको ‘रगत’ द्वितीय र वसन्त अधिकारीले निर्माण गर्नुभएको ‘लक्ष्य’ तृतीय घोषित भयो ।

प्रतियोगितामा दोस्रो र तृतीय हुने चलचित्रले क्रमश: रु एक लाख ५० हजार र रु एक लाख नगदका साथै प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा अनिरुद्र दुवाडीको ‘समर्पण’ र अनिलकुमार महर्जनको ‘गौरव’ नामक लघु चलचित्र सान्त्वनामा घोषित भए । समारोहमा सान्त्वना स्थान प्राप्त गर्ने चलचित्रलाई रु २५/२५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो ।

उक्त प्रतियोगिताका लागि ३८ वटा निवेदन प्राप्त भएकामा छायाङ्कन पछि १० वटालाई प्रतिस्पर्धामा समावेश गरिएको निर्णायक समूहका संयोजक एवं चलचित्र अभिनेतृ सरिता लामिछानेले जानकारी दिनुभयो ।

समारोहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने चलचित्र प्रदर्शन गरियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले २०६७ देखि यो प्रतियोगिता गर्दै आएको छ ।