२ आश्विन २०७७, शुक्रबार

नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार

सांकेतिक तस्विर

नेपालमै पहिलो पटक प्लाज्मा थेरापी विधिबाट अस्पतालको भेन्टिलेटरमा रहेका एक कोरोना संक्रमितको सफल उपचार गरिएको छ। महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचाररत नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको हो ।

विराटनगर स्थायी घर भएका संक्रमितलाई २६ वर्षीय पूर्व संक्रमितले ‘प्लाज्मा’ दिएपछि स्वास्थ्य लाभ गरेका हुन् । ९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनि अहिले जनरल वार्डमा रहेका छन । उनी नेपालमा ‘प्लाज्माथेरापी’ बाट कोभिड-१९ को उपचार गराउने पहिलो व्यक्ति भएका हुन् ।

डा. दासका अनुसार गत साउन १० गते संक्रमित पुरूष अस्पताल भर्ना हुँदा उनमा निमोनियाको समस्या थियो। यस विधिमा कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरुको रगतबाट प्लाज्मा छुट्याएर कोरोनाका कारण गम्भीर बिरामीलाई दिइने दासले बताए।

कोरोनाबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारमा प्लाज्मा थेरापी उपयोगी मानिन्छ ।

गत असार अन्तिम साता राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोभिड-१९ बाट निको भएकाहरूलाई ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन आव्हान गरेको थियो ।

एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवाली भन्छन्, ‘अनुसन्धानका लागि रगत दान गर्न आव्हान गरेको तीन हप्तामै सफल उपचारबारे जानकारी दिन पाउँदा एकदमै हर्षित छौं ।’

प्लाज्मा थेरापीको प्रयोग अन्य देशहरूले पनि गर्दै आएका छन् । यो विधिबाट निको भएका संक्रमितको रगत गम्भीर बिरामी परेका संक्रमितलाई दिने गरिन्छ ।

के हो प्लाज्मा थेरापी ?

प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैं त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ ।

जसरी एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्णरूपले निको हुन्छ । यदि अहिले निको भएका बिरामीले रगतको प्लाज्मा दान गर्ने हो भने कोरोनाबाट गम्भीर अवस्थामा पुगेकाको ज्यान बचाउन सकिन्छ ।

‘रोग प्रतिरोध गर्ने क्षमता नभएका विरामीको शरीरमा एन्टीबडीको प्रवेश गराउनु नै प्लाज्मा थेरापी हो’ डा. मरासिनी भन्छन्, ‘साधारण भाषामा भन्दा यो सेना कमजोर भएर लडाईँ हार्न लागेको देशमा बलियो देशबाट सेना ल्याएर लडाई जिते जस्तै हो ।’

बलियो सेनाले मद्दत गरे जस्तै प्लाज्मा थेरापीबाट विरामीको रोग प्रतिरोधी क्षमता विकासमा मद्दत गर्दछ । एनएचआरसीका सदस्य सचिव ज्ञवाली सबैको प्लाज्मा सबैका लागि सधैं उपयोगी भने नहुने बताउँछन् । उनी भन्छन्, ‘निको भएर गएको दुई हप्ताभित्र प्लाज्मा निकाल्नु सबैभन्दा उपर्युक्त मानिन्छ ।’

रगतको प्लाज्मा दान गर्दा दान गर्ने व्यक्तिलाई कुनै हानी गर्दैन । यो रक्तदान जस्तै भएको बिज्ञ बताउँछन् । सरकारले कोरोनाले गम्भीर भएका आइसीयू र भेन्टिलेटरमा पुगेका बिरामीको उपचारमा निको भएका बिरामीको रगतको प्लाज्मा लिन तयारी गरेको छ ।

प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गरिरहेको छ। परिषद्ले निको भएका संक्रमितहरूलाई इच्छा अनुसार प्लाज्मा दान गर्न पनि आग्रह गरेको छ।

टिचिङमा उपचाररत् कोरोना संक्रमितलाई प्लाज्मा दिने पनि युवक नै हुन्। उनको परिचय भने अस्पतालले गोप्य राखेको छ।

विकल्प नहुँदाको विकल्प

संसारभर एक करोड ८० लाख भन्दा बढीलाई संक्रमित बनाइसकेको कोभिड-१९ को उपचार अझै पत्ता लाग्न सकेको छैन । चिकित्सक तथा वैज्ञानिकहरू निरन्तर यसको उपचारको उपाय खोजिरहेका छन् ।

सन् १८९० मा पहिलो पटक बिरामीहरूमा प्रयोग गरिएको यो विधि विभिन्न उपाय मध्येको एउटा विकल्प हो ।

कोरोना संक्रमितको उपचारमा संलग्न डा. शेरबहादुर पुन भन्छन्, ‘प्लाज्मा थेरापीको सफलता दर १०० प्रतिशत छैन, यद्यपि यो अर्को विकल्प नहुँदा प्रयोग गरिने उत्तम विकल्प हो ।’

सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनी संक्रमितको संख्या बढ्दै जाँदा प्लाज्मा थेरापीको सफल उपचार गम्भीर विरामीका लागि उपयोगी हुने बताउँछन् ।

‘नेपालमा पहिलो विरामीकै सफल उपचार हुनु भनेको कोरोनाका गम्भीर विरामीका लागि सुखद समाचार हो’ उनी भन्छन्, ‘मृत्युदर न्यूनीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।’

एक दर्जन दाता इच्छुक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजारबढी संक्रमितमध्ये आइतबारसम्म १४ हजार ६०३ जना निको भइसकेका छन् । उनीहरूलाई स्वेच्छिक रुपमा प्लाज्मा दान गर्न एनएचआरसीले आग्रह गरेको छ ।

आइतबारसम्म ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन इच्छुक १२ जनाले एनएचआरसीमा नाम दर्ता गराइसकेको डा. ज्ञवालीले जानकारी दिए । उनी भन्छन्, ‘दाताको प्लाज्मा स्क्रिनिङ गरेर म्याच भएपछि गम्भीर विरामीलाई दिन्छौं ।’

प्लाज्मा दिएपछि लक्षण कति घट्यो ? साइड इफेक्ट देखियो कि देखिएन ? प्लाज्मा नदिएका विरामीको तुलनामा प्लाज्मा पाउने विरामीको स्वास्थ्य कति छिटो सुधार भएको छ भन्ने जस्ता विषयमा आफूहरू अनुसन्धान गरिरहेको ज्ञवाली जानकारी दिए ।

लक्षण नभएका वा गम्भीर विरामी बाहेक र १८ वर्ष भन्दा कम उमेरका संक्रमितका लागि भने प्लाज्मा थेरापी विधि प्रयोग नगरिने डा. ज्ञवाली बताउँछन् ।