२१ असार २०७७, आईतवार

“पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँ”: प्रधानमन्त्री अ‍ोली

kp oli at national assembly

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहायता अनुदान प्रस्ताव एमसीसीको पर्याप्त रुपमा नपढेरै विरोध भइरहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उक्त धारणा व्यक्त गरेका हुन्।

“मान्छेहरूले पढे हुन्थ्यो नि, लहैलहैमा लागेको छ । देशमा विकास हुन लाग्यो भन्ने चिन्ता हो ?’’ ओलीले विरोध गर्नेहरूप्रति लक्षित गर्दै प्रश्न गरे, “अहिले केही-केहीले हल्ला चलाएका छन्, पढ्न अल्छी लाग्छ कि के हो?”

उनले आफूले एमसीसी पढेका मान्छे त्यति नभेटेको भन्दै एमसीसी सम्झौता खोजेर पढ्न सुझाव दिए । पढ्नेभन्दा हल्लाका भरमा कुद्‍ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन हो भन्ने प्रश्न ओलीले संसदमा उठाए।

“खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिंड्ने, हातले टेकेर खुट्टा ठाडो पारेर हिंड्ने अभ्यास गर्न किन जरुरी छ ?”, ओलीले भने।

उनले पढेर यहाँ यहाँ समस्या छ भनेर भन्ने कुरा एउटा रहेको तर नपढीकनै विरोध गर्दै हिँडेको देखेर आफूलाई अचम्म लागेको बताए । ‘कहाँ पढ्छन के पढ्छन् अचम्म लाग्छ मलाई,’ उनले भने ।

धेरै जना कागले कान लग्यो भनेर दौडिरहेको तर कान छाम्ने चलन नरहेको प्रधानमन्त्री ओलीले बताए । उनले देशको सार्वभौमसत्ता र राष्ट्रियताभन्दा अरु कुनै कुरा ठूलो नभएको बताए । देशमा विकास हुन लागेकोमा चिन्ता हुन थालेको हुन सक्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

त्यसमै उनले महाकाली सन्धिको प्रसंगसमेत जोडे । ‘महाकाली सन्धीका सन्दर्भमा बबण्डर आँधि हुरी चम्क्यो । म आश्चर्य चकित भएँ । हामी आफैंले अध्ययन गरेर ठीक छ भनेर हस्ताक्षर हुँदा हामी सरकारमा नभएको पार्टी पनि उपस्थित थियो । यो सही गरौँ त तपाईंहरूको पनि मन्जुर छ ? भन्दा मन्जुर छ भनेको हो ।’

प्रणव मुखर्जीले हस्ताक्षर गर्ने बेलामा पनि ‘तो मै साइन करू’ भनेर ३/४ पटक सोधेका थिए । पछि ‘ठीक है, साइन किजिए भन्ने साथीहरू पछि उफ्रे,’ उनले भने, ‘त्यतिबेला गाँजा भाङ धतुरो खाएका त थिएनौं होला ।’

एमसीसीबारे राष्ट्रियसभामा प्रधानमन्त्रीको सम्वोधन

अहिले केही केहीले हल्ला चलाएका छन्, पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँ । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन हो ?

खुट्टाले टेकेर हिंड्न छाडेर टाउकाले टेकेर हिंड्ने, हातले टेकेर खुट्टा ठाडो पारेर हिंड्ने अभ्यास गर्न किन जरुरी छ ? खुट्टाले टेकेर हिंड्नु पर्छ । खुट्टाले टेकेर हिंड्ने भनेको जे त्यसमा प्रबन्ध छ, त्यो प्रबन्ध पढेर ठीक बेठीक यहाँयहाँ छ भन्नु चाहिँ एउटा कुरा हो ।

लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन् ? के पढ्छन् ? कागले कान लग्यो भनेर भन्दा, लाँदा त दुख्छ होला नि ! दुख्या छैन भने होइन होला नि भन्ने थाहा पाउनु पर्‍यो नि पहिला । दुख्या छैन तै पनि सुटुक्कै लगेछ कि भन्ने हो भने पनि छाम्नु पर्‍यो नि, मेरो पनि कान छ कि छैन भनेर ? दुख्यो दुखेर वास्ता नगर्ने, छ कि छैन नछाम्ने लहैलहैमा कुद्ने यो प्रवृत्ति अचम्म लाग्छ ।

अहिले सडकको पनि विषय बनेको छ, अन्तको पनि विषय बनेको छ । यहाँको सान्दर्भिक विषय नभएकाले म धेरै जान चाहन्नँ । तर, पढे हुन्थ्यो नि ! सम्झौतामा के लेख्या छ ? के यस देशमा विकास हुन आँटयो भन्ने चिन्ता हो ? के यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ? ठीकै छ यस विषयमा माननीयहरू समक्ष मेरा विचार कुनै समय राख्ने छु ।