३१ श्रावण २०७७, शनिबार

राष्ट्रवादी खोज्दाको अलमल

जब जब राष्ट्रियताको बहस सुरु हुन्छ अनि सुरु हुन्छ फेसबुक राष्ट्रबाद । सिमानामा काँडेतार लगाउने,यसले एति पैसा दिने उसले यति श्रमदान गर्ने । अर्काथरी राष्ट्रवादीहरु त झन् वीर गोर्खालीका सन्तान भन्दै फेसबुकमै खुकुरीमा धार लगाउन थाल्छन् ।

यी भन्दा नि खतरनाक राष्ट्रवादीहरुको एउटा झुण्ड त एउटा फिल्मी कलाकारले भनेको कुरालाई लिएर व्यापक मनोरञ्जन गराउँछन् । त्यसैगरी च्याउसरी उमृएका मुकुन्दे जस्ता अभियन्ताहरु जोड जोड्ले भारत विरुद्ध नाराबाजी गरेर माइतीघर मण्डला तताँउछन्, लाग्छ कि उनीहरु भन्दा ठुला राष्ट्रवादी कोही छैनन् ।

हाम्रो राष्ट्रवाद हरेकपल्ट भारत संगको मतान्तरमा मात्र उम्लिएर आउछ, मानौं अरुबेला यो राष्ट्रवाद कुम्भकर्ण निन्द्रामा छ । जब खाना आउँछ कुम्भकर्ण उठ्छ, खाना खाएपछि मस्त निन्द्रामा जान्छ । कति कति मलाई बेला हाम्रो राष्ट्रियता र कुम्भकर्णको निन्द्रा उस्तै उस्तै लाग्छ ।

हाम्रो राष्ट्रियता र राष्ट्रबाद पटक पटक हराउँछ । हरेक पटक सिमा र भारतिय संगको मतान्तरमा फेरी उदाँउछ । यो पटक कालापानी लिम्पियाधुरा र लिपुलेकले पनि राष्ट्रवादको राम्रै बजार लिएको छ । यस्ता राष्ट्रवादको बजार तताउन सकेजती जोड्बलले सत्तापक्ष, प्रतिपक्ष र अनेक पक्ष आफ्नो तिकडम गर्छन ।

धेरैलाई राम्रोसँग थाहा छ, नेपालमा सबैभन्दा राम्रो राजनीतिक नाफा भनेको राष्ट्रवाद हो । त्यो पनि भारतलाई गाली गरेको राष्ट्रवाद। यो मुद्दालाई राजनीतिक फाइदा संग जोडेर अनेकौं संगठनहरु परिचालन हुन्छन र भएका पनि छन् । सामाजिक सञ्जालमा व्यक्तिगतरुपमा गाली गर्न होस् वा टिकाटिप्पणीमा उत्रन, काला-गोराको गाली गलौज होस अथवाअ अरिङ्गाल माहुरीको । मानौं यहाँ त जसले अरुलाई जति तल खसाउन सक्यो उ त्यती सच्चा राष्ट्रवादी कहलिन्छ।

के राष्ट्रवाद सिमानामा, सिमानाको काँडेतार र जंगे पिल्लरमा मात्र सिमित हुन्छ त ? राष्ट्रियता र राष्ट्रवाद अब हाम्रा गाउँघरमा बाँझो रहेका बारीका पाटा र नगोडिएका माटोमा खोज्ने बेला भएन र ? हामीले खाने हरेक खाद्य वस्तुहरूमा, हामीले लगाउने कपडाहरूमा, हामीले प्रयोग गर्ने वस्तुमा राष्ट्रवाद र राष्ट्रियता कहिले खोजेका छौँ हामीले ?

हाम्रा स्थानिय खाद्य वस्तु, जडिबुटी औषधी र तरकारीमा कहिले खोज्ने राष्ट्रियता ?

परनिर्भरताले हामीलाई यति गाँजिसकेको छ कि हामीले यस्ता कुराहरुमा राष्ट्रियता कहीँ कतै देखेनौ र देख्दैनौ। हामीलाई राष्ट्रियताको भावना यतिबेला मात्र आउँछ जतिबेला नाकाबन्दी हुन्छ, सीमानाहरु मिचिन्छन् र राजनैतिक हतीयार बन्छन । हाम्रा सिमानाहरु त बर्षौ वर्षदेखि मिचिदै आएका छन्, सिमाका जंगे पिल्लरहरु त आन्दोलनमा हानिने ढुङ्गा जस्तै भएका छन मानौं तिनिहरु एक ठाँउबाट अर्कामा मिल्काउन बनेका हुन् जो रातारात कहाँबाट कहाँ पुग्छन।

हाम्रो राष्ट्रवाद गाउँका खेतबारीका नपोखिएर कहिले लैनचौर,कहिले सोल्टी त कहिले विलासी रात्री भोजहरुमा स्व:स्फुर्त महंगोमा पोखिन्छन । तर सिमानामा शहिद भएका गोविन्द गौतम, हरिपुरका सीमा रक्षक जनताले खाएका गोलीका दाग, एसएसबीका लाठी खाने र अत्याचार सहने सीमा रक्षक नेपालीको ज्यान र बगेको रगत जहिले सस्ता देखिन्छन ।

स्वच्छ छवी भएका राष्ट्रवादी मरिचमान सिंहले मलामी सम्म नपाउने देशमा कस्तो राष्ट्रवाद र राष्ट्रवादिको अपेक्षा गर्नु र खै ? नातावाद, कृपावाद, लम्पसारवादमा अभ्यस्त हामी एक विदेशी कलाकारले भनेको भरमा आफ्नै देश तहसनहस पार्न पछी पर्दैनौ ।

सामाजिक सन्जालमा राष्ट्रवाद प्रदर्शन गर्दा हामी असिम विजयीभाव महसुस गर्ने भएका छौ । हाम्रो राष्ट्रवाद बोलिमामा मात्र सिमित भयो कि ? राजनैतिक्, आर्थिक, सांस्कृतिक, सामाजिक, मौलिक रूपमा हामीले राष्ट्रवाद नचिनेकै हो त ?

यो प्रश्न लिएर घोत्लिन थालेको धेरै भयो । अलमलमा परेको छु ।

जय देश, जय राष्ट्रवाद्, जय राष्ट्रियता

पुरू नेपाल
का.म.पा – ६

    यो पनि...