२६ असार २०७७, शुक्रबार

के सामाजिक सञ्जालले हामीलाई द्वैध चरित्रको बनाउँदै त छैन ?

mahasanchar dashain

कुनैबेला यस्तो थियो,जुनवेला टेलीभिजनका कार्यक्रमहरु हेर्नका लागि घण्टौंको यात्रा तय गरेर गाउँका गन्यमान्य र अलि हुने खानेका घरमा कि त केही रुपैयाँ बोकेर जानु पर्ने थियो,कि त खानेकुराहरु,त्यो पनि श्याम श्वेत टिभि हेर्न ।

टिभी हुनेका घरको दैलोमा चप्पलका ठुलै चाङ्ग हुने गर्दथे, टिभी भएको कोठामा पौष माघको मध्ये जाडोमा पनि शरिरबाट पसिनाको थोपाहरु निस्कन्थे।

टिभी भएको घरधनीले मनपराएका मान्छेले मात्र कोठा भित्र पसेर टिभी हेर्न पाउँथे, मननपरेका मानिसहरु ढोका र झ्यालका प्वालहरुबाट सकि नसकि आँखा तन्काएर हेर्ने थिए।

Tej Giri 2
तेज गिरी
कलाकार तथा बैंकर

झ्यालढोकाका प्वालबाट हेरेको थाहा पाएपछि भित्र बस्नेले जानीजानी त्यो झ्याल ढोकाको प्वाललाई छेकिने गरी बस्थे र त्यही प्वालबाट पनि हेर्न नपाएपछि बाहिर भएकाले घरको धुरीमा एण्टीना अड्याएर राखेको बासलाई मरक्क बटारेर टाप कस्थे ।

अनि भित्र खैलाबैला मच्न्थ्यिो केही बाहिर निस्कन्थे र केही भने बाहिर निस्केपछि भित्र छिर्न पाईन्न की भन्ने डरले दिशा पिसाबले जति नै च्यापे पनि बसेको ठाउँ छोड्दैन थिए ।

बाहिर हुनेले बाँसको लिङ्गोलाई भित्रकाले भयो नभनुन्जेल दायाँ र बायाँ गर्दै घुमाउँदै काराउँथ्यो । त्यसताका अमिताभ बच्चन र मिथुनका फिल्महरु हेरी बारीका कान्लाबाट हाम फालेर खुट्टो मड्काउनेहरु पनि भेटिन्थे ।

रामायणमा रामले बोकेको जस्तै धनुष बनाई घरमा भएको अमृसोको कुचो ठुटै बनाएर पनि खेल्दथे।उस्तै परे आफ्ना बा आमाको नाकै नजिक लगेर तेर्साउने पनि भेटिन्थे । यो त्यही समय थियो जुन समय नेपाली सेनामा जागिरेका झ्यालहरुमा मात्र गाउँ नै थर्किने ३ वटा स्पिकर भएका क्यासेट घन्किरहेका हुन्थिए तर अधिकांशका घरमा २-३ ब्याट्रीका रेडीयोमा सामाचार र गितहरु गुन्जिरहेका हुन्थिए ।

त्यसताका मानिसहरु गाउँमा हुने हरेक कार्यहरु एकआपसमा मिलेर सुखदुःख साटासाट गरी सम्पन्न गर्दथे, एउटा घरको दुध,दही,मोही,करेशबारीका तरकारी,बगैचाका फलफुल गाउँभरी बाढेर खान्थे । कोही कसैले अरुको दुःख देखेर बस्न सक्दैन थिए । हरेक कार्यहरु सामुहिक रुपमा हुने गर्दथे ।

दिनभर जतिसुकै दुःखका कामहरु गरेर आएपनि बेलुका गाउँभरीका घरका अगुवाहरु एकजनाको घरमा जम्मा हुन्थे र घरको खाँबोमा अड्याईएको रेडीयोमा समाचार सुन्दै बुताले बुझे जती विभिन्न ब्याख्या र विश्लेषणहरु गर्थे ।

दिनभिरीका कामको समिक्षा र भोली पर्सि गर्ने कामको योजना तर्जुमा हुने गर्दथे,गाउँमा कसलाई दुःख परेको छ,के सहयोग गर्न सकिन्छ भनेर सहयोगका योजनाहरु बन्ने गर्दथे । त्यसताका बैदेशिक रोजगारमा जानेको संख्या अत्यन्तै न्यून थियो तर पनि कोही कसैले एकछाक भोको बस्नु पर्‍यो भनेको सुनिन्न थियो । बाटो हिड्ने बटुवालाई समेत बोलाई बोलाई खुवाउँथे ।

कामको सिलसिलामा घरबाट बाहिर तर आफ्नै देश भित्र भएका आफन्तको ६ महिनामा एकपटक चिठ्ठी आउँदा गाउँले सबै भेला भई पढेलेखेको एकजनाले विचमा बसेर चिठी पढ्दाको रमाईलो बेग्लै हुन्थ्यो । भालेको डाँक सँगै राजधानीमा भएको छोराको सन्चो विसन्चो बुझ्नलाई सदरमुकाम पुगेर घण्टौं लाईनमा बसेर टेलिफोन सेटबाट २ मिनेट छोरा सँग गफ गरी बेलुका झ्याउँकीरीको आवज संगै घरभित्र पस्दाको बुढाबा को मुहारको खुशी बेग्लै हुन्थियो ।

मायाममता,भाईचार,अत्मियता, आत्मसम्मान, आत्मविश्वास,खुशी त्यो वेलाका मानिसमा वेग्लै हुन्थियो । साहुको चर्को ब्याजबाट पिल्सिएका केही आशिंक ब्यक्तिमा बाहेक अधिकांशको मुहारमा खुशी र चमक नै देखिन्थे । ठुला ठुला सपना हुँदैन थिए,साना साना उपलब्धीमा अत्यन्तै खुशी मनाउँथे ।

यि भए ५० सालतिर को नेपाली समाज ।

देश मा जनयुद्द शुरु भयो, ६० सालतिर युद्द विराम भयो, देश मा शान्ती छायो । गृहयृद्धको दलदलमा फसेको हाम्रो देश विस्तारै शान्ति तर्फ लम्कँदै गयो ।

भुमिगत राजनितिक दलहरु पनि शान्तिवार्तामा आए,फलस्वरुप विभिन्न प्रविधिहरुको विकास तथा आगमन सुरु भयो ।

भारतमा भन्दा अगाडी नेपाल मा दूरसंचार ले फड्को मार्यो, नेपाली हुने खाने वर्गले मोबाइल बोक्न थाले । शुरु शुरुमा मोबाइलमा कल आउँदा पनि पैसा तिर्नु पर्ने वाध्यारी व्यवस्था थियो, बिस्तारै त्यो व्यवस्था हटेर आम जनताको हातमा मोबाइल पुग्यो ।

नोकियाको ३३१०,११००,१११०,६३१० आदी मोडलका फोनहरु प्रचलित थिए, विस्तारै अन्य व्राण्डका मोवाईल फोनहरु पनि भित्रिदै जान थाले र ६० को दशकको मध्य विन्दु पश्चात स्मार्ट फोनहरुको आगमन बढ्न थाल्यो र हुनेखाने वर्गले मात्र बोक्न सक्छ भन्ने मान्यता बोकेको मोवाईल फोन ७० को दशको मध्य विन्दुमा आईपुग्दा हरेक नेपालीको हातहातमा स्मार्टफोन देखिन थाल्यो । अहिले NTC सिम प्रयोगकर्ता डेढ करोड र NCELL सिम प्रयोगकर्ता १ करोड भन्दा माथि रहेको सम्बन्धित कम्पनीलेको दावी छ । अहिले मोवाईल प्रयोगकर्ता नेपाली मध्ये ८० प्रतिशत भन्दा बढीले स्मार्टफोन प्रयोग गर्दछन् ।

एक दशकको यो चमत्कारीक परिर्वतनले सामाजिक संजालका मालिकहरुलाई धनाड्यको उच्च श्रेणीमा पुर्‍यायो भने मोवाईल फोन आयातमा नेपालको खरबौं रकम विदेशिएको छ । त्यो खरबौंको लगानीले नेपालमा के परिवर्तन भयो त? नेपालीको प्रतिब्यत्ति आयमा के परिवर्तन ल्यायो त??

१० बर्ष मोवाईल फोन प्रयोग गर्ने सामान्य प्रयोगकर्ताको महत्वपूर्ण समय बाहेक नै न्यूनतम २ लाख भन्दा माथिको लगानी भएको हुन्छ भने अधिकतमको त लेखाजोखा नै छैन । प्रयोगकर्ता मध्ये २० प्रतिशतले लगानीको राम्रै प्रतिफल उठाए पनि ८० प्रतिशतले लगानीको प्रतिफल उठाउन सकेका छैनन् दिन प्रतिदिन नोक्सानी ब्यहोर्न परिरहेको छ । स्मार्टफोन संग विकसित भएको सामजिक संजाललाई सदुपयोग गरी गाउँ समाज र राष्ट्र निमार्णमा सकारात्मक कदमहरु अघि बढाउनुको साटो नकारात्मक कुराहरुलाई वढावा दिई कसरी कसलाई फसाउन सकिन्छ,कमजोर बनाउन सकिन्छ,खिल्लि उडाउन सकिन्छ,मजाक बनाउन सकिन्छ भन्नेमा मानिसहरु अग्रसर छन् ।

सामाजिक संजालको कारण छरछिमेकीको त कुरै छोडौं आफ्नै परिवार विचको दुरी अत्यन्तै फराकिलो हुँदै गएको छ । पारिवारिक मायामोह भन्दा सामाजिक संजालको मायामोह बड्दो छ । परिवारलाई दिईने घण्टौं समय सामाजिक संजालमा दिन थालिएको छ ।

भोकै बस्न स्वीकार हुन्छ तर सामाजिक संजाल विना बस्न अस्वीकार हुन्छ । जसका कारण मानिसहरु हिंस्रक र भावना रहित बन्दै गईरहेका छन् ।

विदेशमा रहेकाहरुले आफ्नो अतितलाई बिर्सिएर त्यहाँको दुःख पिडालाई लुकाई ठुला ठुला महल, समुन्द्रमा उफ्रिएका तस्विर,विमामा खरिद गरेका भौतिक सामग्रीका फोटो र भिडियोहरु सामाजिक संजालमा देखाई देशको कुनाकन्धरामा बसेको नेपाली मनलाई छिन्न भिन्न बनाई रहेका छन् ।

विकसित मुलुकमा रहेकाले त्यहाँको दुःख,मेहनत,ति देशका विकास र परिवर्तन र त्यहाँको सिपहरुलाई देखाई स्वदेशमा नै रही कार्य गर्नु पर्छ भन्ने सकारात्मक भावनाहरु को विकास समाजिक संजाल मार्फत किन गराउन सक्दैनन? आफ्ना दुःख र पिडालाई किन देखाउन सक्दैनन्? साच्चै उनीहरु तस्विर र भिडियोमा देखिए जस्तै वास्तविक जिवनमा खुशी र सन्तुष्ट होलान त?अहिलेको महामारीले नै देखाई सकेको छ,नेपाल र नेपालीपनको महत्वलाई ।

धर्तीमा श्रृष्टी लिएका हरेक प्राणीमा राम्रो र नराम्रो दुबै गुणहरु हुन्छन्,मानिसहरु पनि त्यसबाट अछुतो रहन सक्दैन । अहिले मानिसका राम्रा कुराहरुलाई छाँयामा राख्दै नराम्रा र नकारात्मक कुराहरुलाई सामाजिक संजालमा छताछुल्ल पारी एक अर्कामा दोषारोपण गरी मानिसको अस्तित्व नै गुम गराउन हेरक ब्यक्तिहरु अग्रसर भईरहेका छन् ।

सस्तो लोकप्रियताको लागि सामाजिक संजालको दुरुपयोग गरी अरुको घर विगारेर,अरुको खेदो खनेर,चरित्र हत्या गरेर मृत्युको मुखमा पुर्‍याउने जस्ता आराजक गतिविधी बढिरहेको छ, भोलीका दिनमा त्यही कार्य म माथि पनि हुन सक्दछ भनी मानिसहरु किन सोच्न सकिरहेका छैनन् ।

बन्दाबन्दीको कारण सडकमा संर्घषरत बर्गहरु अलपत्रमा परेका छन्,एकछाक खान नपाएर तड्पिरहेका छन्,बाटोमा फालिएका फोहोरहरु खान बाध्य भएका छन् र मर्नु भन्दा बहुलाउन निको भन्ने अबस्थामा पुगिसकेका छन् । अर्को बर्ग भने घरभरी २-४ महिनालाई पुग्ने रासन पानी थुपारेर दिनहुँ भिन्न भिन्न किसिमका माछा,मासु लगाएतका परिकारहरु बनाई मस्ती गर्दै गरेका फोटो भिडियोहरु सामाजिक संजालमा पोष्ट्याई रहेका छन् । उनीहरुले ४-५ दिनदेखि केही खान नपाई आफ्नो घरको आँगनमा स्वासको भिख मागिरहेका दुःखीलाई अलिकति आफ्नो भाग कटाएर दिन सक्दैनन् र उनीहरुले नै सामाजिक संजालमा लेख्छन् सरकारले जनतालाई हेरेन राहत दिएन ।

५० को दशकको त्यो दयालु मनहरु कता हराए?

त्यो बेलाको आत्मियता,भाईचारा यती छिट्टै किन विलिन भए?

विश्व नै आक्रान्त भईरहेको यो घडीमा हामी नेपाली मनहरुले आफु भित्रको मानवतालाई बाहिर निकाल्ने हो र हुनेखाने वर्गले आफ्ना वरिपरि रहेको नहुने वर्गलाई सहयोग गर्ने हो भने कोही पनि भोकै बस्नु पर्दैन र सहयोग गर्ने वर्ग कहिल्यै गरिव पनि हुँदैन र हामीले सरकारको मुख ताक्न पनि पर्दैन ।

सामाजिक संजालमा हरेकले आफुले खाएको भन्दा पनि आफुले खुवाएको फोटो र भिडियो हाल्ने हो भने अनि मानवताको सार्थकता झल्कने थियो ।

सामाजिक संजालमा श्रीमान् श्रीमतीको झगडा,केटा केटीको झगडा,एक ब्यक्ति र अर्को ब्यक्तिलाई जुधाएको,मजाक बनाएको तथा छाडा र अश्लिल फोटो तथा भिडियोहरु हाल्नुको सट्टा गाउँगाउँका उद्यमीले गरेको उद्यम,सफलताको कथाहरु,एउटा युवाले स्वदेशमा नै गरेको स्वरोजगार श्रृजना,स्थानिय प्रतिनिधीहरुले गरेका विकास निर्माणका राम्रा राम्रा सकारात्म कार्यहरु,सबैजना जुटेका,नयाँ श्रृजनशिल कार्यहरु ,नेपाली मनहरु एकजुट भएका फोटो तथा भिडियोहरु राख्ने र कोही कसैले पनि नकारात्मक टिका टिप्पणी,कुण्ठाहरु,नैराश्यताहरु सामाजिक संजालमा ब्यक्त नगर्ने हो भने अबश्य झल्कने थियो नेपाली र नेपालीपन ।

हाम्रो देशमा राम्रा कार्य गर्ने ब्यक्तिहरु पनि धेरै छन् तर उनीहरु छाँयामा परिरहेका छन् हरेक नेपाली मनहरुले राम्रा कार्य गरेका ब्यक्तिका गतिबिधीहरुलाई प्राथमिकता दिई सामाजिक संजाललाई भरौं त?

ति नराम्रा कार्य गर्नेहरु बाध्य भएर राम्रा कार्य गर्न थाल्दछन् । भ्रष्टचार तथा नराम्रो कार्य गर्ने लाई सामाजिक संजाल मार्फत खबरदारी भएको छ भन्ने कुरापनि उठ्न सक्छ त्यो खबरदारी त चुनावमा भोट माग्ने बेलामा गर्ने र खराबलाई त्यहीबाट नै बहिष्कार गर्नुपर्छ ।

हामी सकारात्मक भई एकबद्ध भई अघि बढ्ने हो भने विदेशिनेको भन्दा स्वदेशिनेको लाईन बढ्नेछ,घरघरमा रोजगार श्रृजना हुनेछ,हरेक नेपाली शुखी रहनेछन् र अन्य मुलुकका नागरीकहरु नेपालमा रोजगारी गर्नको लागि आवेदन दिन लाईन बस्नेछन् ।

परिवर्तनको सुरुवात आफैबाट गर्न सक्नु पर्दछ र सबैले सामाजिक संजालको सकारात्मक सदुपयोग गर्ने हो भने पक्का पनि देशले सकारात्मक परिवर्तनको अनुभुति गर्न पाउनेछ । नेपालीले स्मार्ट फोनमा लगानी गरेको खरबौं रकम दोब्बर भई असुली हुनेछ ।

सामाजिक संजाल मा राम्रो देखिने र वास्तविकतामा ठीक उल्टो चरित्र देखिने अनुहार हरु तपाँई हाम्रा अगाडी धेरै छन् ।

के प्रविधिले हामिलाई द्वैध चरित्रको बनाउँदै त छैन ?