२२ असार २०७७, सोमबार

५ राष्ट्रमा उडान रोक्न सर्वोच्चको आदेश

Supreme Court  43KnAVGEAY

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोक्न सर्वोच्च अदालतले उचित कदम चाल्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ । सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको हो।

संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानको अवस्था र परिस्थितिको सूक्ष्म मूल्यांकन गर्न समेत सजग गराइएको छ। ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक लगाउन तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउनसमेत सर्वोच्चले भनेको छ।

सरकारले पूर्वसावधानीका लागि आवश्यक व्यवस्था मिलाउन नसकेको दाबीसहित अधिवक्ता पूर्ण राजवंशीले रिट दायर गरेका थिए। सर्वोच्चले उत्तर र अन्य सीमाबाट नेपालमा प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिहरू प्रवेश गर्ने नागरिक (विदेशी समेत) को अनिवार्य रूपमा कडाइका साथ स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न पनि सरकारलाई आदेश दिएको छ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका नाममा आदेश दिएको छ। ‘कोरोना भाइरसको गम्भीर संक्रमण फैलिएका देश (चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरान) बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानको अवस्था र परिस्थितिको गम्भीरताको सूक्ष्म मूल्यांकन गरी,’ अन्तरिम आदेशमा उल्लेख छ, ‘आमजनताको स्वास्थ्य सम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउनु।’

आदेशमा नेपालमा पनि संक्रमणको प्रवेशको सम्भावनालाई कुनै पनि अवस्थामा नजर अन्दाज गर्न नहुने उल्लेख छ । सम्भावित जोखिमलाई विचार गर्दै दैनिक उपभोग्य सामानको व्यवस्थापनमा समेत पूर्वतयारी गर्न आदेशमा उल्लेख छ।
अन्नपूर्णबाट