२२ श्रावण २०७७, बिहीबार

जब इजराइली सैनिकलाई युवतीको तस्बिरले लोभ्याइयो, त्यसपछि…

युवतीको तस्बिर पठाएर आफ्ना दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक गरिएको इजरायली सेनाले जनाएको छ ।

सेनाका एक प्रवत्ताका अनुसार सैनिकहरुलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्नका लागि लोभ्याइएको थियो ।

तर सैनिकहरुले त्यो एप्लिकेशन डाउनलोड गर्दा फोन ह्याक हुनसक्छ भनेर थाहा पाएनन् ।

इजरायली सेनाले हमास सङ्गठनसँग जोडिएका मानिसहरुले आफ्ना सैनिकको स्मार्टफोन ह्याक गरेको बताएको छ ।

गजा क्षेत्रमा नियन्त्रण गर्ने चरमपन्थी गुट हमास र इजरायलबीच पुरानो दुस्मनी रहँदै आएको छ ।

इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कार्निकसका अनुसार इजरायली सेनाको फोन ह्याक गर्ने हमासको यो तेस्रो र अहिलेसम्मकै जटिल प्रयास थियो ।
उनले भने, ‘उनीहरुले आफ्नो क्षमता बढाएको बारेमा हामी देखिरहेका छौँ र सोचिरहेका छौँ ।’

कर्नेल कार्निकसका अनुसार ह्याकरहरुले मुश्किलले हिब्रु भाषा बोल्ने र प्रवासी भएको दाबी गर्ने युवतीको रुप धारण गरेका थिए ।

सैनिकसँग साथी बनिसकेपछि ती युवतीले केही लिङ्क पठाउँदै त्यसको माध्यमबाट आफ्नो तस्बिर पठाउन सक्ने बताएका थिए । तर त्यो कुनै भाइरस थियो, जो स्मार्टफोन ह्याक गर्न सक्षम थियो ।

त्यो लिङ्क एकपटक क्लिक गरेपछि ह्याकहरुले स्मार्टफोनको डाटा, लोकेशन र तस्बिरको एक्सेस सहजै पाउँथे ।

यतिमात्र नभइ फोनलाई नियन्त्रण पनि गर्न सक्छ र फोन प्रयोगकर्तालाई जानकारी नै नदिइ तस्बिर खिच्न र आवाज रेकर्ड गर्न सकिन्छ ।

कर्नेल कार्निकसले इजरायली सेनालाई यस बारेमा महिनाअघि थाहा भएको थियो र यसलाई आफ्नै निगरानीमा चल्न दिइएको थियो । पछि यसलाई बन्द गरियो ।

इजरायली सैनिकको फोन ह्याक भएको यो तेस्रो पटक हो । एजेन्सी

    यो पनि...