९ मंसिर २०७७, मंगलवार

नेपालीहरुको दोस्रो महानपर्व तिहार सुरु, आज काग तिहार, धनतेरस पनि आजै

यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार भने आज शनिबार मनाइँदै छ । यमपञ्चकको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशीका दिन शनिबार काग पूजा गरी मनाइँदैछ । यसै दिनदेखि पाँच दिनसम्म यमराज मत्र्यलोकको विचरणमा रहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यो दिन कागलाई भोजन गराउँदा पितृले सोझै पाउँछन् भनिन्छ । कागलाई यमदूत मानिएको छ । काग धुरीमा कराउँदा, कागले मैथुन गरेको देखेमा अशुभ रहन्छ भन्ने ज्योतिषीय मान्यता रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउछन् । सत्ययुगमा अमृतपान गरेका हुनाले काग अजम्बरी चरा मानिन्छ ।

त्यो बेलामा देवता वर्गले एकअर्कासँग सञ्चार गर्न कागकै प्रयोग गर्ने गरेको किंवदन्ती छ । मानवको विकाससँगै धर्तीमा विचरण गरेको प्राणी पनि काग हो भन्ने लोकोक्ति छ ।

चराविद् डा. हेमसागर बरालले भने, “काग घर नजिक बसे पनि वनमा बसे पनि मानिसको साथी हो, मानिसले फालेका फोहर खाएर वातावरण सफा पार्ने, रोगव्याधीबाट मानिसलाई बचाउने, भूकम्प, बाढीपहिरो, बाघ, भालु, सर्पजस्ता मानिसका लागि खतरनाक जीवका बारेमा कराएर जानकारी दिँदै सचेत गराउँछ । ”

चरा प्रजातिलाई गीतारु र विरुत वर्गमा विभाजन गरिएको छ । त्यसमध्ये स्वर सुरिलो नभए पनि काग गीतारु अर्थात् गीत गाउने वर्गमा पर्छ । गीत नगाउने वर्गमा चील, गरुड, बकुल्ला, जलहाँस, परेवा, सुगालगायतका चरा पर्छन् ।

उनका अनुसार बुद्धि भएका प्राणीमध्ये कागलाई मानिस र बाँदर प्रजातिपछिको चरा मानिन्छ । यसका बारेमा वैज्ञानिकहरूले गरेको प्रयोगमा कागले मानिसले झैँ दिमाग लगाएर काम गर्न सक्छ । कागको दिमागी क्षमता भने उच्च रहेको वैज्ञानिकहरू उल्लेख गर्छन् ।

बरालले थपे, “कतिसम्म भने कुनै कागलाई मानिसले मारेकोे देखेमा समूह मिलेर खेद्छ, एक पटक हैन पटक पटक खेद्छ । त्यो मासिनलाई उसले झन्डै छ वर्षसम्म पनि बिर्सन्न । ”

कागले गन्ती गर्ने, आफ्नो सहजताका लागि भौतिक वस्तु उपयोग गर्ने, प्रतिकार गर्ने समूहमा सहकार्य गर्ने क्षमता राख्छ । काग चरामध्येकै बाठो भएकाले पनि यो मानिसको सहायक बन्न सकेको कथन उनको छ ।

थरीथरीका काग

चराविद् बरालका अनुसार विश्वभर झन्डै पाँच दर्जन प्रजातिका काग पाइन्छ । तीमध्ये नेपालमा छ प्रजातिका काग पाइन्छ । नेपालमा पाइने पहिलो प्रजातिमध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको घर काग हो । घर कागको घाँटी र छातीमा खरानी रङको फुस्रो रौँ र अन्यत्र कालो रङ हुन्छ । घर काग मानव बस्तीभित्रै बस्छ । यसको सङ्ख्या नेपालमा लाखौँको हाराहारीमा रहेको अनुमान छ । तराईदेखि मध्य पहाडसम्म पाइने घर काग मानव जीवनसँगै अनुकूलन हुँदै जिउने गरेको पाइएको उनले जानकारी दिए ।

दोस्रो प्रजातिमा कालो काग पर्छ । कालो काग मानव बस्तीबाट टाढा घना जङ्गलमा बस्छ । घर कागभन्दा केही ठूलो र टाउकोदेखि पुच्छरसम्म निक्खर कालो हुन्छ । यसले घर कागभन्दा कडा आवाज निकाल्छ । यसको उपस्थिति तराईदेखि मध्यपहाडी भेगमा पाइन्छ । तेस्रो प्रजातिमा चार हजार मिटर उचाइमाथि अर्को थरी कालो काग पाइएको छ । यसले हिमाली भेगको रहनसहन बुझेको हुन्छ ।

चौथो प्रजातिमा राजा काग पर्छ । यो अन्य कागभन्दा आकारमा चीलजस्तै ठूलो हुन्छ । राजा कागको स्वर भने अन्य कागको जस्तो तिखो हुन्न । “कराउन त खोज्छ तर यसको आवाज घाँटीबाटै सुकेको जस्तो खर्रर खर्रर आउँछ”, बरालले थपे, “राजा काग सामान्य कागजस्तो ठूलो हुलमा रहन्न, तीनदेखि छवटासम्मको समूहमा देखिन्छ । ”

राजा कागको सङ्ख्या विश्वमै कम रहेको छ । यो पृथ्वीको उत्तरी गोलाद्र्धका एसिया, युरोप र अमेरिका महादेशका देशहरूमा पाइन्छ । नेपालमा यसको सङ्ख्या करिब एक हजार आसपास रहेको अनुमान छ ।

पाँचौँ र छैटौँ प्रजातिमा कालो कागझैँ तर केही साना आकारका काग पर्छन् । ठ्याक्कै कागकै जस्तो आकार नभए पनि कागको आनीबानी रहेको बराल सुनाउँछन् । तीन हजार मिटरमाथिको उचाइका हिमाली क्षेत्रमा पाइने यी कागमध्ये एकलाई टेमु र अर्कोलाई टुङ्गो भनिन्छ । अन्य चरा वातावरण विनाश, प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, मानव अतिक्रमणका कारण सङ्कटमा पर्ने गर्छन् । तर कागले भने मानिसले झैँ आफैँ अनुकूलन हुँदै जीवन अगाडि बढाएको हुनाले यसलाई खासै असर नपरेको बरालको कथन छ

दुई हजार किलोको काग

कागेश्वरी मनोहरा नगरपालिकामा दुई हजार किलोको विश्वकै ठूलो पञ्चरत्न धातुको कागको प्रतिमा निर्माण गरिने भएको छ । नगरपालिका प्रमुख कृष्णहरि थापाले नगरपालिकालाई पर्यटकीय गन्तव्यको केन्द्रका रूपमा विकास गर्न कागको प्रतिमा निर्माण गर्न लागिएको बताए ।
नगरपालिका–१ मा रहेको कागेश्वरी मन्दिरको नामबाट नगरपालिकाको नाम रहेको छ । अहिलेसम्म इन्डोनेसियामा एक हजार ४०० किलोको धातुको कागको प्रतिमा निर्माण भएको छ । कागेश्वरी मन्दिरमा २२७ किलोको धातुको काग भने यसअघि नै निर्माण भइसकेको छ ।

नगरपालिकाको लोकतान्त्रिक शहीद पार्कमा आगामी फागुन ७ गते मनाइने कागेश्वरी महोत्सवमा उक्त पञ्चरत्न धातुको काग राखिने नगरपालिका–१ का वडाध्यक्ष मकुन्द गजुरेलले जानकारी दिए । उनले भने, “पञ्चरत्न धातुको काग निर्माणका क्रममा तामा, पित्तल, चाँदी, सिल्भर र सुन मिसाएर धातुको काग निर्माण गरिनेछ । ” किंवदन्तीअनुसार कागेश्वरी मन्दिरमा कागले गाईको दूध शिवलिङ्गमा चढाउँदै गरेको स्थानीय गाई गोठालाले देखेपछि त्यही ठाउँमा खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले उक्त समयदेखि कागेश्वरी मन्दिरको नाम कागेश्वरी रहन गएको भन्ने भनाइ छ ।

आजको गोरखापत्र राष्ट्रिय दैनिकमा चाँदनी, सरोज र नगेन्द्रले यो समाचार लेखेका छन् ।